पेटभित्र कोकिन लुकाएर नेपाल प्रवेश, अन्तर्राष्ट्रिय तस्करी जालोको पर्दाफास

ecopolinews.com

काठमाडौँ । नेपाललाई ट्रान्जिट बनाउँदै हवाईमार्गमार्फत लागुऔषध तस्करी गरिरहेको अन्तर्राष्ट्रिय गिरोहको गतिविधि खुलासा भएको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर ल्याएका एकसहित तीन जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा निगरानीमा राखिएका विदेशी नागरिकहरूमाथि जाँच गर्दा एक महिलाले मुखबाट निलेर पेटभित्र लुकाएको कोकिन अस्पतालमा स्वास्थ्यकर्मीको सहयोगमा निकालिएको प्रहरीले जनाएको छ। पेटभित्रबाट निकालिएका क्याप्सुलहरू प्लास्टिकले कोट गरिएको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार लाओस हुँदै थाइल्यान्डबाट काठमाडौँ आएकी ४० वर्षीया थाई नागरिकको साथबाट कूल ४१ वटा क्याप्सुलमा प्याक गरिएको कोकिन बरामद गरिएको छ। तीमध्ये केही क्याप्सुल उनी बसेको होटलमै फेला परेका थिए भने बाँकी पेटभित्र लुकाइएको अवस्थामा भेटिएको हो। बरामद लागुऔषधको तौल झण्डै आधा किलोभन्दा बढी रहेको जनाइएको छ।

यसै घटनाक्रममा लाओसबाट सिङ्गापुर हुँदै नेपाल आएका दुई भारतीय नागरिक पनि पक्राउ परेका छन्। उनीहरूको साथमा रहेको सुटकेसभित्र कफीको प्याकेटमा लुकाइ राखिएको ठूलो परिमाणको कोकिन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक जाँचमा तस्करी योजनाबद्ध र संगठित रूपमा गरिएको देखिएको छ।

प्रहरीले पक्राउ परेकाहरूलाई अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। नेपाललाई प्रयोग गरेर अन्तर्राष्ट्रिय लागुऔषध तस्करी गर्ने प्रयासहरू बढ्दै गएकाले हवाई मार्गमा निगरानी कडा पारिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया