नरेन्द्र शाही - काठमाण्डौ - आधुनिक नेपालको एकीकरणका महान् अभियन्ता तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा श्रद्धा, सम्मान र गौरवका साथ मनाइँदैछ।
वि.सं. १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहले छरिएर रहेका बाइसे–चौबीसे राज्यहरूलाई एकीकृत गर्दै आधुनिक नेपालको जग बसालेका थिए। उनको ऐतिहासिक योगदानको स्मरण गर्दै हरेक वर्षझैँ आज पनि सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको शालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिँदैछ। यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोह आयोजना गरेको छ, जसमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ। राष्ट्रनिर्माताको जन्मभूमि गोरखामा पनि विशेष कार्यक्रमका साथ यो दिवस मनाइँदैछ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरेको छ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले आन्तरिक र बाह्य चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा एकीकरण अभियानलाई सफलतापूर्वक अघि बढाएका थिए। २० वर्षको उमेरमा गद्दीआरोहण गरेका उनले साहस, रणनीति र दूरदृष्टिका साथ एकीकरण अभियान सञ्चालन गर्दै ५२ वर्षको उमेरमा वि.सं. १८३१ मा देहावसान गरेका थिए।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र पहिचानको स्मरण गराउँदै विविधताबीचको एकतालाई थप मजबुत बनाउने प्रेरणा दिन्छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश यस दिवसको मूल मर्म हो, जसले समावेशी, सशक्त र आत्मनिर्भर राष्ट्र निर्माणतर्फ सबैलाई प्रेरित गर्दछ। विशेषतः युवापुस्तामा मातृभूमिप्रतिको समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गराउन यस दिवसको महत्वपूर्ण भूमिका छ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने बलियो आधार तयार गरेकाले नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन सफल भएको हो। उनले दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका सन्दर्भमा उत्तिकै सान्दर्भिक छन्। नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को रूपमा चित्रण गर्दै उनले भू–राजनीतिक संवेदनशीलताप्रति सचेत रहन दिएको सन्देश आज पनि राष्ट्रिय हितका सवालमा मार्गदर्शक बनेको छ।
यस अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना सन्देश दिँदै राष्ट्रनिर्माताको योगदानबाट प्रेरणा लिँदै एकताबद्ध नेपाल निर्माणमा जुट्न आह्वान गरेका छन्।