चीनले खुलेआम अमेरिकामाथि जासुसीको आरोप लगाएको छ। चिनियाँ अधिकारीका अनुसार, अमेरिकाले कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी उपकरणमार्फत चीनभित्र निगरानी र नियन्त्रणको योजना अघि बढाइरहेको छ।
अमेरिकाले अहिले ‘हार्डवेयर स्विच’ र ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा AI चिप्समा जडान गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ। अमेरिकी काँग्रेसमा तयार हुँदै गरेको “चिप सेक्युरिटी एक्ट (Chip Security Act)” अनुसार, चिप निर्माणकर्ताहरूले आफ्नो उत्पादनमा भू–स्थान (geolocation) र टाढैबाट बन्द गर्न सकिने (remote shutdown) प्रणाली अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
चीनको तर्क अनुसार, यस्तो प्रावधानले व्यापारिक उपकरणहरूलाई स्वतः पूर्ण निगरानी र नियन्त्रणको हतियारमा बदलिदिन्छ। यसै विषयमा चीनको साइबर नियामक निकायले अमेरिकी कम्पनी Nvidia का प्रतिनिधिलाई बोलाएर चीनमा पठाइने उपकरणमा कुनै लुकेका निगरानी उपकरण वा ‘ट्र्याकिङ सिस्टम’ नभएको पुष्टि गर्न माग गरेको थियो।
यसपछि अमेरिकी र चिनियाँ सञ्चारमाध्यमबीच तीव्र “सूचना युद्ध” सुरु भएको छ।
चिनियाँ मिडियाले अमेरिकालाई “जासुसी साम्राज्य (Surveillance Empire)” भन्दै आरोप लगाएका छन्— जसले सामान ढुवानीमा प्रयोग हुने सामान्य ट्र्याकिङ ट्यागहरूका सट्टा, उत्पादनभित्रै निगरानी प्रणाली जडान गर्ने गरेको छ।
विशेषज्ञहरूका अनुसार, वाशिङ्टनले यस्तो प्रणाली महंगा सर्भर र ग्राफिक्स उपकरणहरूमा लागू गर्न खोजिरहेको छ, जसले “भविष्यको साइबर युद्ध” का लागि तयारी संकेत गर्दछ। यदि सम्बन्ध झन् बिग्रिए, अमेरिकी गुप्तचर निकायहरूले चीनको उपकरण टाढैबाट नै निष्क्रिय गर्न सक्ने सम्भावना चीनले जनाएको छ।
चिनियाँ मिडियाले यो कदमलाई चलचित्र “The Matrix” सँग तुलना गर्दै भनेका छन् — “स्वतन्त्रता केवल भ्रम हो, वास्तविकता भने पूर्ण नियन्त्रणमा आधारित छ।”
यसबीच, अमेरिकी कम्पनी Nvidia ले भने ती सबै आरोपलाई दृढतापूर्वक अस्वीकार गरेको छ। कम्पनीका सुरक्षा प्रमुखले भनेका छन्, “चिपमा ‘रिमोट स्विच’ राख्ने विचार त ह्याकरहरूका लागि त उपहार सरह हो।”
तर, गत वर्ष डेल कम्पनीका केही सर्भरहरूमा Nvidia ग्राफिक्स प्रयोग गरिएको उपकरणभित्र लुकेका डिभाइस फेला परेको तथ्य सार्वजनिक भएपछि विवाद झन् गहिरिएको छ।
आजको अवस्थामा AI प्रविधिको व्यापार सामान्य व्यापारभन्दा बढी गुप्त युद्धभूमि (Covert Battlefield) जस्तै बन्न थालेको छ — जहाँ देशहरू बीच “डिजिटल शक्ति र नियन्त्रण” को निर्णायक लडाइँ सुरु हुन लागेको संकेत देखिन्छ। - विभिन्न स्रोत