पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तान फेरि हिंसाको आगोमा जलेको छ। विभिन्न सहर र रणनीतिक क्षेत्रमा एकैसाथ भएका सशस्त्र आक्रमण र त्यसपछिको सुरक्षा कारबाहीमा कम्तिमा १२५ जनाको मृत्यु भएको पुष्टि भएको छ। शनिबार जारी विज्ञप्तीमा पाकिस्तानी सेनाले सुरक्षा अपरेसनका क्रममा ९२ जना पृथकतावादी लडाकू मारिएको जनाएको छ।
सेनाका अनुसार भिडन्तमा १५ जना सुरक्षाकर्मी र १८ जना सर्वसाधारणले ज्यान गुमाएका छन्। दशकौँदेखि पृथकतावादी विद्रोहको चपेटामा परेको बलुचिस्तानमा यसपटकको हिंसा सबैभन्दा संगठित र व्यापक मानिएको छ।
शनिबारका आक्रमणको जिम्मेवारी प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ। समूहले प्रान्तभर एकैसाथ आक्रमण गरिएको दाबी गर्दै १५ घण्टासम्म चलेको कारबाहीमा ८४ जना पाकिस्तानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ। तर पाकिस्तानी सेनाले उक्त दाबी अस्वीकार गर्दै कुनै पनि सहर वा रणनीतिक स्थल कब्जा गर्ने प्रयास पूर्ण रूपमा असफल पारिएको जनाएको छ।
सेनाको सञ्चार शाखा आइएसपीआरले आक्रमण बाहिरबाट सञ्चालन गरिएका आतंककारी नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा रही गरिएको दाबी गरेको छ। सेनाले यसमा भारत प्रायोजनको आरोप पनि दोहोर्याएको छ, जसलाई भारतले अघिल्ला घटनाजस्तै अस्वीकार गर्दै आएको छ।
क्वेटा, मस्तुङ, नोष्की, दलबन्दिन, खारान, पञ्जगुर, तुम्प, ग्वादर र पास्नी लगायतका क्षेत्रमा आक्रमण भएका छन्। ग्वादरमा प्रवासी कामदार बसोबास गर्ने क्याम्पमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ, जसमा ५ पुरुष, ३ महिला र ३ बालबालिका छन्। सो घटनापछि ग्वादरमै ६ जना लडाकू मारिएको सुरक्षा निकायले जनाएको छ।
नोष्की जिल्लामा अवस्था गम्भीर बनेको छ। त्यहाँ जिल्लाका शीर्ष प्रशासकलाई लडाकूले अपहरण गरेको दाबी गरिएको छ भने सामाजिक सञ्जालमा उनी लडाकूको नियन्त्रणमा रहेको भनिएको भिडियो पनि सार्वजनिक भएको छ।
क्वेटाका केही क्षेत्रमा सशस्त्र समूहले अस्थायी रूपमा सडक अवरुद्ध गरेका थिए भने उच्च सुरक्षा क्षेत्र नजिक विस्फोटको आवाज सुनिएपछि केही समय तनाव बढेको थियो। अहिले अधिकांश क्षेत्रमा स्थिति नियन्त्रणमा लिइएको र अस्पतालहरूलाई आपतकालीन अवस्थामा राखिएको अधिकारीहरूले बताएका छन्।
जातीय बलुच समूहद्वारा दशकौँदेखि जारी विद्रोह, गरिबी, विकासको अभाव र केन्द्र सरकारप्रतिको असन्तुष्टिले बलुचिस्तानलाई पाकिस्तानकै सबैभन्दा अस्थिर प्रान्त बनाउँदै आएको छ। पछिल्लो घटनाले त्यहाँको सुरक्षा अवस्था झनै जटिल बन्दै गएको संकेत गरेको छ।