काठमाडौं, कात्तिक ९ — प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा चार नयाँ अनुहार समावेश गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छिन्। चारै मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको र आजै शपथग्रहण हुने तयारी गरिएको स्रोतले जनाएको छ।
नयाँ मन्त्रीका रूपमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार, र बब्लु गुप्ता मन्त्री बन्न लागेका छन्।
उनीहरूलाई क्रमशः —
डा. सुधा शर्मा गौतम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
गणपतिलाल श्रेष्ठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
खगेन्द्र सुनार : श्रम तथा रोजगार मन्त्रालय
बब्लु गुप्ता : युवा तथा खेलकुद मन्त्रालय
को जिम्मेवारी तोकिएको छ।
प्रधानमन्त्री कार्कीले सिफारिस गरेको नामावली राष्ट्रपति कार्यालय पुगेको पुष्टि भएको छ। शपथग्रहणको समय केहीबेरमै सार्वजनिक गरिने राष्ट्रपति कार्यालयले जनाएको छ।
डा. सुधा शर्मा गौतम पूर्व स्वास्थ्य सचिव तथा स्त्री–प्रसूति रोग विशेषज्ञ हुन्। उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ जस्ता पुस्तक लेखेर प्रशासनिक अनुभव र नेतृत्वको दृष्टिकोण पनि प्रस्तुत गरेकी छन्।
गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन्। रानीपोखरी, बसन्तपुर दरबार क्षेत्रलगायत ऐतिहासिक सम्पदाको पुनर्निर्माण र संरक्षण अभियानमा अग्रसर श्रेष्ठले अक्सफोर्ड विश्वविद्यालयमा समेत नेपालको सम्पदा संरक्षण अभियानबारे प्रस्तुति दिएका थिए।
खगेन्द्र सुनार दलित अधिकारका प्रखर अभियन्ता हुन्। उनले संवैधानिक पदमा दलित प्रतिनिधित्वका लागि आन्दोलन, धर्ना र प्रदर्शनमार्फत आवाज उठाउँदै आएका छन्।
बब्लु गुप्ता सामाजिक अभियन्ता हुन्। कोभिड महामारीका समयमा उनले निःशुल्क खाना वितरणदेखि कपडा बैंक र रगत सहयोग अभियान चलाएका थिए। ‘हन्ड्रेड ग्रुप’ मार्फत युवालाई सामाजिक सेवामा सक्रिय गराउने गुप्ता युवा प्रेरणाको रूपमा परिचित छन्।
उल्लेखनीय कुरा, गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता दुबै अनलाइनखबरको “४० वर्ष मुनिका ४० प्रभावशाली युवा” सूचिमा चयन भएका थिए।
प्रधानमन्त्री कार्कीको यो नयाँ मन्त्री टोलीमा अनुभवी प्रशासनिक, सामाजिक र अभियानमुखी व्यक्तित्वको मिश्रण देखिएको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।