राष्ट्रिय कर दिवस २०८२: नेपाल उद्योग परिसंघद्वारा उत्कृष्ट करदाताहरू सम्मानित

ecopolinews.com

नेपाल उद्योग परिसंघ (सीएनआई) ले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ। नेपाल सरकारबाट उच्च करदाता घोषित संस्था तथा व्यक्तिहरूलाई निजी क्षेत्रको तर्फबाट योगदानको कदरस्वरूप परिसंघले विशेष सम्मान गरेको हो।

सरकारले राष्ट्रिय कर दिवसका अवसरमा १६ जना संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो। सोही सूचीमा परेका करदाताहरूलाई मंगलबार सीएनआई सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मानपत्र प्रदान गरे।

सम्मानित हुनेहरूमा वस्तु निर्याततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रा.लि., विशेष उद्योगतर्फ युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायतर्फ सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि. तथा ऊर्जा क्षेत्रतर्फ भोटेकोशी पावर कम्पनी रहेका छन्।

यसैगरी, कृषि तथा पशुपन्छी उद्योगतर्फ पोषक ब्रिडर फार्म, सूचना प्रविधि सेवा निर्याततर्फ भेरिस्क नेपाल, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, बैंक, वित्तीय संस्था र बीमातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, तथा स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पनि उत्कृष्ट करदाता घोषित भई सम्मानित भए।

त्यसैगरी, रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई, उच्च आयकर दाखिला गर्ने संस्थातर्फ नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार ५० करोडदेखि १ अर्ब रुपैयाँसम्मको वर्गतर्फ सीडीएस एन्ड क्लियरिङ लिमिटेड, ५० करोड रुपैयाँसम्म कारोबार गर्ने वर्गतर्फ भीएफ सर्भिसेज (मोरिसस) प्रा.लि. लाई सम्मान प्रदान गरिएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ २०७६ साउनदेखि २०८२ असार मसान्तसम्म नियमित रूपमा विवरण दाखिला गर्दै सबैभन्दा बढी भ्याट बुझाउने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातातर्फ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह पनि परिसंघबाट सम्मानित भएका छन्।

कार्यक्रममा अध्यक्ष पाण्डेले कर प्रणालीलाई सुदृढ बनाउने कार्यमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कर तिर्ने संस्कृतिले आर्थिक अनुशासन र राष्ट्रिय विकासमा टेवा पुर्‍याउने बताए।

प्रतिक्रिया