मोदीप्रति ट्रम्पको दोधार भाव: ‘राम्रो मान्छे हुन्, तर मलाई खुसी बनाउन सकेनन्’

ecopolinews.com

नयाँ दिल्ली । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राम्रो मान्छे’ भन्दै प्रशंसा गरे पनि भारतले आफ्नो अपेक्षा पूरा नगरेको भन्दै असन्तुष्टि पोखेका छन्। रुसबाट तेल खरिद कम नगरे भन्सार शुल्क (ट्यारिफ) थप कडा बनाउने चेतावनी उनले दिएका हुन्।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मोदी राम्रो मान्छे हुन्। म खुसी छैन भन्ने उनलाई थाहा थियो, र मलाई खुसी पार्नु महत्वपूर्ण थियो। तर भारतले अझै तेलको व्यापार जारी राखेको छ, त्यसैले हामी छिट्टै ट्यारिफ बढाउन सक्छौँ।” ट्रम्पको यो अभिव्यक्तिलाई भारतमाथि दबाब बढाउने कडा संकेतका रूपमा हेरिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस विषयमा भारतको वाणिज्य मन्त्रालयले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि पनि अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्म ट्यारिफ लगाएको थियो, जसले भारतीय निर्यात क्षेत्रमा ठूलो असर पारेको थियो। पछि मोदी–ट्रम्प वार्तापछि उक्त निर्णय आंशिक रूपमा फिर्ता लिइएको थियो।

ट्रम्पले अक्टोबरमा भएको भेटमा मोदीले रुसबाट तेल किन्न बन्द गर्ने आश्वासन दिएको तर अहिलेसम्म कार्यान्वयन नभएको गुनासोसमेत गरेका छन्। यद्यपि, रोयटर्सले उक्त भेटमा तेल व्यापारबारे स्पष्ट सहमति नभएको दाबी गरेको छ।

यो पछिल्लो टिप्पणीसँगै भारत–अमेरिका कूटनीतिक सम्बन्धमा फेरि तनाव बढ्न सक्ने आकलन गरिएको छ। रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो। ट्रम्प प्रशासनका अधिकारीहरूले रुसले तेल व्यापारबाट आएको आम्दानी युक्रेन युद्धमा प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन्। साथै भारतले रुसी तेल प्रशोधन गरी पुनः बिक्री गरेर अर्बौँ डलर कमाइ गरिरहेको आरोप पनि उठ्दै आएको छ।

अगस्ट २०२५ मा अमेरिकाले भारतीय वस्तुहरूमा ५० प्रतिशत ट्यारिफ लगाएपछि करिब ४८–५० अर्ब डलर बराबरको निर्यात प्रभावित भएको बताइएको छ, जुन भारतको कुल निर्यातको १८–२० प्रतिशत हो। यसबाट कपडा, छाला, आभूषण, सी–फुड र अटोमोबाइल क्षेत्र सबैभन्दा बढी प्रभावित भएका थिए।

ट्रम्पद्वारा भारतमाथि कडा ट्यारिफको चेतावनीलाई मुख्यतः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युक्रेन आक्रमण रोक्न दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ, जसको प्रत्यक्ष असर भारत–अमेरिका व्यापार र कूटनीतिमा पर्न सक्ने छ।

प्रतिक्रिया