सल्लाघारीमा एमालेको राजनीतिक उत्सव सुरु

ecopolinews.com

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशन उद्घाटनअघि नै देशभरबाट आएका एमालेका नेता–कार्यकर्ता सल्लाघारीमा भेला हुन थालेका छन्, जसले सम्पूर्ण क्षेत्रलाई राजनीतिक उत्सवको रूप दिएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम का अनुसार उद्घाटन सत्रमा मात्रै करिब तीन लाख सहभागी हुने अनुमान गरिएको छ। महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन उद्घाटन समारोहमा नेपालको एकता, पहिचान र विविध संस्कृति झल्काउने २०० भन्दा बढी कला–संस्कृतिसम्बन्धी झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ।

महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई ले भ्रातृत्वपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट शुभकामना सन्देश प्राप्त भइरहेको जानकारी दिए।

महाधिवेशनलाई शान्तिपूर्ण, भयरहित र अनुशासित वातावरणमा सम्पन्न गर्न पार्टीका २४ वटा जनसङ्गठनको प्रतिनिधित्व हुने गरी ५०० भन्दा बढी स्वयंसेवक विशेष ‘ड्रेसकोड’मा खटाइनेछ। साथै, कार्यक्रम व्यवस्थापन, सुरक्षा र सेवाका लागि १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको एमालेले जनाएको छ।

सल्लाघारी क्षेत्र अहिले एमालेको शक्ति प्रदर्शन, संगठनात्मक एकता र राजनीतिक सन्देशको केन्द्र बनेको छ। महाधिवेशनले पार्टीको आगामी नेतृत्व, नीति र रणनीतिमा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया