पोखरा- मुग्लिन सडक किन अझै सकिएन? तेस्रो पटक फेरि बढ्यो म्याद

ecopolinews.com

कास्की । संघीय राजधानी काठमाडौँ र पर्यटकीय राजधानी पोखरालाई जोड्ने प्रमुख राजमार्ग पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक विस्तार योजना (पश्चिम खण्ड) फेरि एकपटक चर्चामा आएको छ । पटक–पटक म्याद थपिँदै आएको यो आयोजना तेस्रो पटक थपिएको समयसीमासँगै अब विसं २०८३ असार १५ सम्म लम्बिएको छ ।

एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा चार वर्षअघि सुरु गरिएको यो आयोजना निर्धारित समयमा पूरा हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार सडक विभागले पुनः समय थप गरेको हो । योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म पश्चिम खण्डमा करिब ७५ प्रतिशत भौतिक प्रगति मात्र भएको छ ।

उनका अनुसार नयाँ म्यादभित्र चार लेन र छ लेनसहित सम्पूर्ण सडक खण्ड सम्पन्न गर्ने लक्ष्य लिइएको छ । “अब चालू आर्थिक वर्षभित्र बाँकी सबै काम सक्नेगरी तीव्र गतिमा काम अघि बढाइएको छ,” उनले बताए ।

योजनामा ढिलाइ हुनुका मुख्य कारणका रूपमा विद्युत् पोल र खानेपानीका पाइप सार्न लागेको समय, रुख कटान प्रक्रिया तथा प्राविधिक जटिलता उल्लेख गरिएको छ । पछिल्लो पटकको म्याद गत डिसेम्बर अन्त्यमा सकिएपछि थप छ महिना समय थपिएको हो ।

पश्चिम खण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती नदी पुलसम्म ३८.८८ किलोमिटर सडक पर्छ । हालसम्म ३७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ भने ३४ किलोमिटरमा दोस्रो तहको कालोपत्रे पूरा भएको छ । एकतर्फी कालोपत्रे गर्न अब मात्र करिब एक किलोमिटर सडक बाँकी छ ।

यसैसँगै सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट र रोड सेफ्टी ब्यारियर जडानका काम पनि सुरु भइसकेका छन् । चालू आर्थिक वर्षमा मात्रै ११ किलोमिटर सडक चार लेनमा पहिलो तहको र ३० किलोमिटर चार लेनमा दोस्रो तहको कालोपत्रे गरिएको छ । एक पुल र दुई कल्भर्ट निर्माण पनि यसै अवधिमा सम्पन्न भएका छन् ।

उक्त खण्डको निर्माण सम्झौता विसं २०७८ जेठ २ गते भएको थियो भने काम भदौ १२ गतेदेखि सुरु भएको थियो । चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन सँग रु ७ अर्ब ४० करोड लागतमा ठेक्का सम्झौता गरिएको हो ।

यसअघि विसं २०८१ भदौसम्मको म्यादमा उल्लेख्य प्रगति नदेखिएपछि पहिलो पटक १०१ दिन र त्यसपछि एक वर्ष म्याद थपिएको थियो । तेस्रो पटक थपिएको समयले अब यो बहुप्रतीक्षित सडक आयोजना साँच्चिकै पूरा हुन्छ कि फेरि म्यादमै सीमित रहन्छ भन्ने चासो बढाएको छ ।

प्रतिक्रिया