एसपी पवन कुमार भट्टराईको प्रमुख आतिथ्यमा साइबर सुरक्षाबारे विशेष सचेतना कार्यक्रम : विद्यार्थीलाई डिजिटल अपराधबाट जोगिन स्पष्ट सन्देश

ecopolinews.com

काठमाडौं । समुदाय प्रहरी साझेदारी “हाम्रो प्रहरी” कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको सक्रियतामा प्रहरी वृत्त महाराजगञ्ज, प्रहरी प्रभाग नयाँ बसपार्क तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको संयुक्त आयोजनामा फ्लोरोसेन्ट माध्यमिक विद्यालय, टोखामा साइबर सुरक्षा सम्बन्धी विशेष प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका प्रिन्सिपल कमल प्रसाद न्यौपानेको सभाध्यक्षता तथा प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईको प्रमुख आतिथ्य रहेको थियो। 

कार्यक्रममा एसपी पवन कुमार भट्टराईले पछिल्लो समय डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर अपराधका स्वरूप पनि जटिल बन्दै गएको उल्लेख गर्दै विशेषगरी विद्यार्थी, अभिभावक र युवापुस्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले फेसबुक, म्यासेन्जर, व्हाट्सएप, इमेल, टिकटक तथा अन्य डिजिटल प्लेटफर्ममार्फत हुने फेक आईडी, ह्याकिङ, पासवर्ड चोरी, अनलाइन ब्ल्याकमेल, वित्तीय ठगी तथा अश्लील सामग्रीको दुरुपयोगजस्ता अपराधले समाजमा गम्भीर असर पारिरहेको बताउनुभयो। 

एसपी भट्टराईले अपरिचित लिंक नखोल्ने, ओटीपी कोड कसैलाई नदिने, बलियो पासवर्ड प्रयोग गर्ने, बैंकिङ एप सुरक्षित राख्ने, सार्वजनिक वाइफाइ प्रयोग गर्दा सावधानी अपनाउने तथा सामाजिक सञ्जालमा व्यक्तिगत विवरण खुला नराख्ने बानीले साइबर अपराधबाट धेरै हदसम्म बच्न सकिने स्पष्ट पार्नुभयो। उहाँले साइबर अपराधको शिकार भए तत्काल प्रहरीको सम्पर्कमा आउन आग्रह गर्दै कानुनी उपचार र अनुसन्धानका लागि नेपाल प्रहरी साइबर ब्यूरो सधैं सक्रिय रहेको जानकारी दिनुभयो। 

उहाँले सचेतनामूलक कार्यक्रमहरू अपराध नियन्त्रण तथा न्यूनीकरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विद्यालय, कलेज, समुदाय र सार्वजनिक संस्थासँग सहकार्य गरेर यस्ता कार्यक्रमलाई अझ व्यापक बनाइने बताउनुभयो। “डिजिटल युगमा सुरक्षा भनेको केवल भौतिक सुरक्षा मात्र होइन, सूचना र पहिचानको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण विषय हो,” भन्दै उहाँले युवापुस्तालाई जिम्मेवार डिजिटल नागरिक बन्न आग्रह गर्नुभयो। 

कार्यक्रममा सहभागी विद्यार्थीहरूले साइबर बुलिङ, अनलाइन गेमिङबाट हुने जोखिम, मोबाइल एपमार्फत डाटा चोरी, सामाजिक सञ्जालमा हुने मानसिक दबाब तथा डिजिटल कानुनबारे जिज्ञासा राखेका थिए। प्रहरी अधिकारीहरूले उदाहरणसहित ती प्रश्नको उत्तर दिँदै नेपालमा विद्यमान साइबर कानुनी व्यवस्थाबारे पनि जानकारी गराएका थिए।

विद्यालय प्रशासनले यस्तो कार्यक्रमले विद्यार्थीमा डिजिटल अनुशासन, जिम्मेवारी र सुरक्षा चेतना बढाएको प्रतिक्रिया दिएको छ। 


प्रतिक्रिया