तीन मन्त्रीको राजीनामा ‘संयोग’ कि रणनीति ?

ecopolinews.com

काठमाडौं । मन्त्रिपरिषद् बैठकपछि सत्ता वृत्तमा एकाएक तरंग पैदा भयो— तीनजना मन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएको खबर। उर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलको नाम जोडिँदा राजनीतिक वृत्त थप तरंगित बन्यो।

तर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त खबरलाई स्पष्ट शब्दमा खण्डन गरेका छन्। बाह्रखरीसँगको कुराकानीमा खरेलले प्रधानमन्त्री सुशीला कार्कीले औपचारिक रूपमा राजीनामा मागेको नभई ख्यालठट्टाको शैलीमा “राजनीतिमा जान चाहनु भए स्वतन्त्र हुनुहुन्छ” मात्र भनेको दाबी गरे।

“प्रधानमन्त्रीज्यूले राजीनामा दिनुस् भन्नुभएको होइन,” खरेलले भने, “म कुनै पनि राजनीतिक गतिविधिमा संलग्न छैन, न त अहिलेसम्म चुनाव लड्न राजीनामा दिने मनस्थिति बनाएको छु।”

खरेलले आफू सरकारको तर्फबाट निष्पक्ष रूपमा निर्वाचन गराउने दायित्वमा केन्द्रित रहेको उल्लेख गर्दै राजनीतिमा प्रवेश गर्ने चर्चा निराधार भएको जिकिर गरे।

तर अर्कोतर्फ, सत्ता समीकरणको भित्री तस्वीर भने फरक देखिन थालेको छ। उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ भने एक–दुई दिनमै राजीनामा दिने तयारीमा रहेको उनको निकट स्रोतको दाबी छ। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता, सहकार्य र चुनावी सभाका कारण सरकारमा बसिरहनु उपयुक्त नहुने निष्कर्षमा कुलमान पुगेका छन्।

त्यसैगरी, रवि लामिछाने र कुलमानबीच भएको छलफल तथा सहमतिमा खेलकुदमन्त्री बब्लु गुप्ताको समेत सक्रिय सहभागिता रहेको बताइन्छ। गुप्ता पनि आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा होमिने तयारीमा रहेको स्रोतको दाबी छ।

एकातिर खरेलको स्पष्ट खण्डन, अर्कोतिर कुलमान–गुप्ताको सम्भावित राजीनामा—

यो केवल संयोग हो कि सत्ता र चुनावी राजनीतिबीचको सावधानीपूर्वक बुन्ने रणनीति ?

राजनीतिक बजार ततिँदै जाँदा एउटै प्रश्न घुमिरहेछ—

तीन मन्त्रीमध्ये को बस्छ, को जान्छ, र कसले खेल बदल्छ ?

प्रतिक्रिया