वीरगञ्जमा अचानक बदलियो माहोल,आन्दोलन रोक्ने सहमति कसरी बन्यो?

ecopolinews.com

काठमाडौं । पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै वीरगञ्जमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले अब कुनै पनि प्रकारका प्रदर्शन र आन्दोलन नगर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न उक्त बैठकले शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न सबै पक्षबाट प्रतिबद्धता व्यक्त गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालका अनुसार विगत केही दिनदेखि भइरहेका विरोध प्रदर्शनका कारण उत्पन्न सम्भावित जोखिमलाई ध्यानमा राख्दै बैठक आह्वान गरिएको थियो। बैठकले अन्य मुलुक वा स्थानमा भएका घटना तथा दुर्घटनालाई आधार बनाएर वीरगञ्जमा आन्दोलन, जुलुस वा प्रदर्शन नगर्ने स्पष्ट सहमति जनाएको छ।

बैठकले पीडित पक्षले कुनै पनि आन्दोलनका कार्यक्रम अघि बढाउनुअघि अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने निर्णय गरेको छ। अनुमति लिनका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेस गर्नुपर्ने र प्रशासनको स्वीकृतिपछि मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको प्रजिअ दाहालले जानकारी दिए।

सद्भाव जोगाउन ‘जिल्ला सद्भाव संयन्त्र’ गठन

भविष्यमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावमा आँच पुग्ने गतिविधि नियन्त्रण गर्न र आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्ला सद्भाव संयन्त्र गठन गरिएको छ। उक्त संयन्त्रमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न धार्मिक समुदायका अगुवाहरू रहनेछन्।

संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित शाह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुव अली शेरु र अली अस्गर मदानी सदस्य रहने निर्णय भएको छ। आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधिलाई पनि समेटिने प्रशासनले जनाएको छ।

यसैगरी, जिल्लास्थित प्रत्येक राजनीतिक दलबाट एक–एक जना प्रतिनिधि रहनेछन् भने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र नागरिक समाजका प्रतिनिधिको पनि सहभागिता रहनेछ।

मिडियालाई संयमित भूमिका खेल्न आग्रह

बैठकले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गर्दा सामाजिक सद्भावमा खलल नपुग्ने गरी संयम र जिम्मेवारीका साथ काम गर्न अनुरोध गरेको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव विथोल्ने समूह वा गतिविधिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा सहभागी सबै पक्षले आ–आफ्नो समुदायभित्र भएका कमजोरीको आत्मसमीक्षा गर्दै अनुशासन, आत्मसंयम र आपसी सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन्।

हटाइयो कर्फ्यु आदेश

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यु आदेश हटाएको छ। प्रशासनले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको हो।

सर्वपक्षीय बैठकबाट जिल्लाको शान्ति–सुव्यवस्था क्रमशः सुदृढ हुँदै गएको निष्कर्ष निकालिएपछि कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ। उल्लेखनीय छ, सोमबारदेखि वीरगञ्जमा कर्फ्यु आदेश लागू गरिएको थियो।

प्रतिक्रिया