अध्यक्ष ओलीको स्कर्टिङमा हजारौं युवा संघ कार्यकर्ता ! रामबाघ महलमा सुरु हुँदै एमालेको १०औं केन्द्रीय बैठक

ecopolinews.com

काठमाडौं, असोज २९ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान भक्तपुरको गुन्डुस्थित निजी निवासबाट ललितपुरको रामबाघ महलसम्म राष्ट्रिय युवा संघ नेपालका हजारौं कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गर्दै पु¥याउने तयारी गरेको छ।

झम्सीखेल भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरु हुने एमालेको १०औं केन्द्रीय कमिटी बैठकमा सहभागी हुन ओलीलाई विशेष सुरक्षा व्यवस्थासहित स्कर्टिङ गरेर पार्टी प्यालेससम्म पुर्‍याइने भएको हो।

युवा संघले ओली फर्किँदा पनि त्यही शैलीमा मोटरसाइकल स्कर्टिङ गरेर गुन्डु पुर्याउने जनाएको छ।

बैठकमा राजनीतिक प्रतिवेदन र आगामी रणनीति

आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको प्रारम्भमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रतिवेदनमा हालैको जेन–जी प्रदर्शन र त्यसबाट उत्पन्न विध्वंश, त्यसको राजनीतिक प्रभाव र परिणाम, जेन–जी विध्वंशपछि बनेको अन्तरिम सरकार, र आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा एमालेको सहभागिता नहुने निर्णय लगायतका विषय समेटिने बुझिएको छ।

त्यससँगै सर्वोच्च अदालतमार्फत प्रतिनिधिसभा पुनर्स्थापना गराउने रणनीतिसमेत प्रतिवेदनको केन्द्रमा रहने बताइन्छ।

सुरक्षा व्यवस्थामा युवा संघको ‘पहरा’

सरकारले ओलीको सुरक्षामा कटौती गरेपछि उनको सुरक्षा जिम्मा राष्ट्रिय युवा संघ नेपाल, पूर्वसैनिक र पूर्वप्रहरी सङ्गठनले सम्हालेका छन्।गुन्डुस्थित ओली निवासमा पनि युवा संघका कार्यकर्ता २४ घण्टा पहरा दिँदै आएका छन्।युवा संघका एक वरिष्ठ नेता अनुसार, “ओलीप्रति जनताको विश्वास घटेको होइन, झन् दृढ भएको छ। राज्यले सुरक्षा हटाए पनि हामी आफ्ना नेता सुरक्षित राख्छौं।”

राजनीतिक तापक्रम चर्किँदै

एमालेको यो बैठकलाई आगामी निर्वाचन र राजनीतिक पुनर्संरचनाको दृष्टिले निर्णायक मानिएको छ।ओलीले बैठकमा ‘जनता र पार्टीलाई नयाँ ऊर्जा दिने’ अभिव्यक्ति दिने अपेक्षा गरिएको छ।भक्तपुरदेखि ललितपुरसम्मका राजमार्गहरूमा आज बिहानैदेखि एमाले समर्थक युवाहरूको र्यालीमय माहोल देखिएको छ।गुन्डुबाट निस्कने ओलीको काफिला ‘ओली जिन्दाबाद’ नारासहित मोटरसाइकल स्कर्टिङमा अघि बढ्ने तयारीमा छ।

प्रतिक्रिया