संवेदनशील विभागको जिम्मा मिरा आचार्यलाई, महिलाको क्षमता माथि सरकारको स्पष्ट भरोसा

ecopolinews.com

काठमाडौँ । वैदेशिक रोजगार व्यवस्थापनजस्तो संवेदनशील र राष्ट्रिय चासोको जिम्मेवारी अब सहसचिव मिरा आचार्यको काँधमा आएको छ। बुधबार वैदेशिक रोजगार विभागमा हाजिर भएसँगै उनले महानिर्देशकको औपचारिक जिम्मेवारी सम्हालेकी हुन्।

पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ६० जना सहसचिवको अन्तरमन्त्रालय सरुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालयमा कार्यरत आचार्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भई विभागीय नेतृत्वमा आएकी हुन्। श्रममन्त्री राजेन्द्र सिंह भण्डारीले वैदेशिक रोजगारीको नीति, नियमन र श्रमिक सुरक्षासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण निकायको नेतृत्व उनैलाई सुम्पनु महिला नेतृत्वप्रतिको विश्वासको स्पष्ट सन्देश हो।

प्रशासनिक अनुभव, नीतिगत समझ र निर्णय क्षमताले परिचित आचार्यको नेतृत्वले वैदेशिक रोजगार क्षेत्रमा देखिएका अनियमितता नियन्त्रण, सेवाप्रवाह सुधार र श्रमिकको हकहित संरक्षणमा नयाँ गति दिने अपेक्षा गरिएको छ। यसअघि विभागका महानिर्देशक रहेका कमलप्रसाद भट्टराई मधेस प्रदेशमा सरुवा भएका छन्।

मिरा आचार्यको नियुक्ति केवल एक प्रशासनिक परिवर्तन मात्र होइन, निजामती सेवामा महिलाहरू अब्बल नेतृत्व दिन सक्षम छन् भन्ने यथार्थको पुनःस्थापना पनि हो। जिम्मेवारीमा खरो उत्रँदै आएका महिला प्रशासकहरूको उपस्थितिले सार्वजनिक सेवामा दक्षता, पारदर्शिता र उत्तरदायित्व थप मजबुत हुने विश्वास गरिएको छ। फोटो:नेपालखबर

प्रतिक्रिया