कांग्रेस कार्यसम्पादन समिति बैठक आज: महाधिवेशनको गाँठो खुल्छ कि झन् कसिन्छ?

ecopolinews.com

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो ३ बजे पार्टी मुख्यालय सानेपामा बस्दैछ। बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि डाकिएको छ।

यसअघि पुस २६ देखि तय गरिएको कांग्रेसको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ। यही सन्दर्भमा विहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेका छन्। साथै, विशेष महाधिवेशन आह्वान गर्ने निर्णय सार्वजनिक गरेका छन्।

विशेष महाधिवेशन पक्षधर समूहले पुस २७ र २८ का लागि भृकुटीमण्डपमा हलसमेत बुक गरिसकेको अवस्थामा कांग्रेसभित्र महाधिवेशनसम्बन्धी विवाद झन् पेचिलो बनेको छ। एकातिर विशेष महाधिवेशनको दबाब बढ्दो छ भने अर्कोतर्फ सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा चुनावअघि महाधिवेशन हुन नसक्ने स्पष्ट सन्देश दिइसकेका छन्। उनले महाधिवेशनले पार्टीभित्र घात–प्रतिघात बढ्ने भन्दै समय उपयुक्त नभएको धारणा राख्दै आएका छन्।

संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशन बोलाउने वा नबोलाउने अधिकार केन्द्रीय समितिकै क्षेत्राधिकारभित्र पर्ने बताउँदै आएका छन्। यस्तो परिस्थितिमा आज बस्न लागेको कार्यसम्पादन समिति बैठकलाई कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने निर्णायक बैठकका रूपमा हेरिएको छ।

बैठकले महाधिवेशनको विवाद समाधानतर्फ बाटो खोल्ने कि आन्तरिक शक्ति संघर्षलाई थप चर्काउने भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया