काठमाडौं, २५ असोज । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चा चलेकी टासी ल्हाजोम विवादमा परेकी छन्। कर्णाली जेन–जी संयोजक सुप्रिया शाहीले ल्हाजोमको नागरिकता र फ्री तिब्बत अभियानसँगको सम्भावित कनेक्सनबारे तत्काल छानबिनको माग गरेकी छन्।
सुप्रिया शाहीले भनेकी छन्, “टासी ल्हाजोमको नागरिकता विवादमा रहेकाले यस सम्बन्धमा तुरुन्त छानबिन हुनुपर्छ।” साथै, ल्हाजोम फ्री तिब्बत अभियानसँग संलग्न भएको वा कुनै राजनीतिक गतिविधिमा सहभागी भएको अपुष्ट समाचार आएका कारण, नेपाल–चीन सम्बन्धको संवेदनशीलतालाई मध्यनजर गर्दै स्पष्टता ल्याउन आवश्यक रहेको बताइयो।
जेन–जी आन्दोलनमा ल्हाजोमको भूमिका, योगदान र कर्णाली प्रदेशका स्थानीय मुद्दा तथा विकास क्षेत्रमा उनको योगदानबारे पनि प्रश्न उठाइएको छ। शाहीले कर्णाली प्रतिनिधित्वको निर्णय अघि कर्णालीका स्थानीय जेन–जी समूहहरूसँग छलफल नगरी कुनै निर्णय नलिन आग्रह गरेकी छन्।
यस विवादले आगामी मन्त्रिपरिषद् गठन र कर्णाली प्रदेशको राजनीतिक सन्दर्भमा नयाँ बहसलाई जन्म दिने अनुमान गरिएको छ।