विशेष महाधिवेशनको अडान पार्टीको होइन, व्यक्तिगत मत हो : सहमहामन्त्री परियार

ecopolinews.com

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विशेष महाधिवेशन यही पुसभित्रै गर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा व्यक्त गरेको अडानप्रति आपत्ति जनाएका छन्। शनिबार (पुस १९) कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परियारले उक्त धारणा पार्टीको औपचारिक निर्णय नभई व्यक्तिगत मत मात्र भएको स्पष्ट पारे।

उनले पार्टीजस्तो संस्थामा सबै नेताको विचार एउटै नहुन सक्ने उल्लेख गर्दै विशेष महाधिवेशनको विषयमा पार्टीभित्र व्यापक बहस, विचार र विमर्श भइरहेको बताए। यस्तो अवस्थामा कसैको व्यक्तिगत भनाइलाई नै पार्टीको निर्णयका रूपमा लिइनु उपयुक्त नहुने उनको भनाइ थियो।

“विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने कुरा महामन्त्रीहरूको व्यक्तिगत अभिव्यक्ति हो। पार्टी कुनै व्यक्तिगत कम्पनी होइन, यहाँ फरक–फरक विचार हुन्छन्, ती विचारमाथि छलफल हुन्छ र अन्ततः छलफलबाट निस्किएको निष्कर्ष नै पार्टीको धारणा हुन्छ,” परियारले भने।

उनले पार्टीभित्र हुने छलफलबाट आएको निर्णयलाई सबैले आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। यदि पार्टीको निर्णय चित्त नबुझेमा आफ्ना मुद्दा र विचार नेता–कार्यकर्तामाझ तथा जनताको बीचमा लैजान सकिने विकल्प खुला रहेको पनि उनले उल्लेख गरे।

“पार्टीभित्र छलफल चलिरहेको छ। त्यसबाट जे निष्कर्ष निस्किन्छ, त्यसैलाई लिएर हामी अगाडि बढ्ने हो। निर्णय मन नपरे जनताको बीचमा गएर आफ्नो कुरा राख्न सकिन्छ,” परियारले थपे।

विशेष महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला सहमहामन्त्री परियारको यो अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक बहस अझ स्पष्ट रूपमा बाहिर आएको छ।

प्रतिक्रिया