काठमाडौँ, २८ मङ्सिर - प्रतिनिधिसभाको निर्वाचन आउन अब केवल ८१ दिन मात्र बाँकी रहँदा देशभर निर्वाचनको माहोल तीव्र बन्दै गएको छ । निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरू आ–आफ्नो तहबाट तयारीमा जुटिरहेका छन् । मुलुक क्रमशः पूर्ण रूपमा निर्वाचनमय बन्दै गएको आभास हुन थालेको छ ।
निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीतर्फ राजनीतिक दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ । आयोगले समानुपातिक प्रणालीतर्फ जनसङ्ख्याका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमलगायत समूहका लागि प्रतिशत निर्धारणको प्रक्रिया अघि बढाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी आचारसंहिताको मस्यौदा तयार पारेर सुझाव सङ्कलन भइरहेको छ ।
सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सहजीकरण गरिसकेको जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिइसक्नुभएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति–सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्ण रूपमा तयारी अवस्थामा रहेको स्पष्ट पार्नुभएको छ ।
राजनीतिक दलहरू पनि निर्वाचन केन्द्रित गतिविधिमा तीव्र रूपमा सक्रिय देखिएका छन् । नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै केन्द्रमा सिफारिस पठाउन थालेको छ । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि उम्मेदवार छान्ने कार्यमा कांग्रेस अन्य दलभन्दा अगाडि देखिएको छ ।
नेकपा (एमाले)ले शनिबारदेखि ११औँ महाधिवेशन सुरु गर्दै निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक सन्देश प्रवाह गरेको छ । महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधरहित वातावरणमा चुनाव भए एमाले बहुमत ल्याउन सक्षम रहेको दाबी गर्दै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको थियो ।
यस्तै, विभिन्न कम्युनिस्ट घटक एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ‘सन्देशसभा’ नाम दिएर देशव्यापी चुनावी गतिविधि तीव्र बनाएको छ । सो पार्टीले सुर्खेत, धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा सम्पन्न गरिसकेको छ भने आगामी पुस ५ गते काठमाडौँमा बृहत् सन्देशसभा आयोजना गर्ने तयारी गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हुनुपर्ने स्पष्ट धारणा राख्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वाचापत्र निर्माणदेखि उम्मेदवार छनोटसम्मको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फ आवेदन खुला गरेर भेलासभामार्फत निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ १०० राजनीतिक दल सहभागी हुँदैछन् भने प्रत्यक्षतर्फ ११४ दल निर्वाचनमा सहभागी हुनेछन् । एकल निर्वाचन चिह्नमा सहभागी हुने व्यवस्था मिलाउँदा समानुपातिकतर्फ ९३ वटा निर्वाचन चिह्न कायम भएका छन् ।
चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरूको सक्रियता, सुरक्षा संयन्त्रको तयारी र आयोगको व्यस्तताले मुलुक पूर्ण रूपमा निर्वाचनको माहोलमा प्रवेश गरेको संकेत देखिएको छ