युके पठाउने सपना देखाएर ५२ लाख ठगी! काठमाडौँबाट समातिए ‘विदेशी एजेन्ट’

ecopolinews.com

काठमाडौँ, २ पुस । वैदेशिक रोजगारीका लागि युनाइटेड किङडम (युके) पठाइदिने आश्वासन दिएर लाखौँ रुपैयाँ असुलेको आरोपमा एक व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–१५ स्थायी घर भएका तथा हाल काठमाडौँ महानगरपालिका–१२ मा बस्दै आएका ५० वर्षीय लालबहादुर बराइलीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बराइलीले एक पीडितलाई युकेमा रोजगारी मिलाइदिने भन्दै ५२ लाख रुपैयाँ लिएका थिए। तर, लामो समयसम्म विभिन्न बहाना बनाउँदै विदेश नपठाई अन्ततः सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए। सोही उजुरीको आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले पक्राउ परेका बराइलीलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जानकारी दिए।

यसैबीच, प्रहरीले विदेश रोजगारीको नाममा हुने ठगीका घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई यस्ता प्रस्तावप्रति सचेत र सावधान रहन आग्रह गरेको छ।

प्रतिक्रिया