काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेश आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्दै ती उपदेश राष्ट्रिय एकता, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र तथा सन्तुलित परराष्ट्र नीतिका मार्गदर्शक सिद्धान्त भएको बताएकी छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले कलह, झगडा र अस्थिरताले थलिएर विकास गर्न नसकेका ससाना राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्र निर्माण गर्नु इतिहासकै गौरवपूर्ण अध्याय भएको उल्लेख गरिन् । यही दूरदर्शी एकीकरण अभियानकै कारण आजको स्वतन्त्र, सार्वभौम र आत्मसम्मानयुक्त नेपाल सम्भव भएको उनको भनाइ छ ।
उनले पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्र निर्माताप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले नागरिकहरूको सल्लाह–सुझाव समेट्दै एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियानका रूपमा अघि बढाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व, साथै हाम्रा वीर पुर्खाको त्याग, तपस्या र बलिदानकै कारण नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्यलाई आत्मसात गर्नुपर्नेमा जोड दिइन् ।
‘ऐतिहासिक एकीकरणले तयार पारेको सुदृढ आधारभूमिमै उभिएर हामी आजको सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका छौं,’ उनले भनिन्, ‘हामीले हाम्रो पवित्र भूमि, गौरवशाली इतिहास र समृद्ध संस्कृतिप्रति गर्व गर्दै पूर्वजप्रति सधैं कृतज्ञ रहनुपर्छ । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु नै सभ्य र जिम्मेवार समाजको पहिचान हो।’
उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले देशभक्तिको भावना थप प्रबल बनाउँदै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अझ मजबुत पारोस् भन्ने कामना व्यक्त गरिन् । साथै, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमिकता र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि यस दिवसले सबै नेपालीलाई प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षा पनि व्यक्त गरिन् ।