रविन्द्र कट्टेल - काठमाडौँ: समावेशी शासन र युवा नेतृत्वको नयाँ मानक स्थापित गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्वलाई ऐतिहासिक उचाइमा पुऱ्याएको छ। कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना प्रभावशाली महिला नेतृहरूलाई विभागीय जिम्मेवारी सुम्पिएर सरकारले ३७.५ प्रतिशत अर्थात् झन्डै ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको हो। गत चैत १३ गते सरकार गठन हुँदा पाँच जना महिला मन्त्री सहभागी रहेकोमा शुक्रबार प्रधानमन्त्री शाहको सिफारिसमा गौरीकुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएसँगै यो संख्या ६ पुगेको छ।
वर्तमान मन्त्रिपरिषद्मा सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला, गीता चौधरीले कृषि तथा वन, सीता वादीले महिला तथा बालबालिका, निशा मेहताले स्वास्थ्य तथा खानेपानी, प्रतिभा रावलले संघीय मामिला तथा भूमि व्यवस्था र नवनियुक्त गौरीकुमारी यादवले उद्योग मन्त्रालयको कमान्ड सम्हाल्नुभएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले देश निर्माणको मूल प्रवाहमा महिलाको यो तहको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर ठाडो पारेको उल्लेख गर्नुभएको छ। समावेशिता र राष्ट्रिय एकतालाई सरकारको मुख्य जग मान्दै चालिएको यो शक्तिशाली कदमले नेपालको राजनीतिक इतिहासमा नयाँ आशा र विश्वासको सञ्चार गरेको छ।