काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार तय गरेसँगै पार्टीभित्र आन्तरिक विवाद सतहमा आएको छ । उमेदवार छनोट भागबन्डाका आधारमा गरिएको भन्दै नेतृत्व तहमा नै असन्तोष देखिएको हो । कांग्रेसले अघि सारेका ९ जना उमेदवारमध्ये ६ जना सभापति शेरबहादुर देउवा निकट र ३ जना डा. शेखर कोइराला पक्षका रहेका छन् ।
डा. शेखर कोइराला निकटतर्फ मधेस प्रदेशबाट रञ्जित कर्ण, वाग्मती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उमेदवार बनाइएको छ । यस्तै, सभापति देउवा निकटतर्फ सुनीलबहादुर थापा, धर्मेन्द्र पासवान, जगत तिमिल्सिना, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती उम्मेदवार बनेका छन् ।
यी नामहरू नेकपा एमालेसँगको तालमेलपछि टुंग्याइएको कांग्रेस स्रोतको भनाइ छ । तर यही निर्णयप्रक्रियामाथि महामन्त्री गगन थापाले कडा असहमति जनाएका छन् । उनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन नगर्नुपर्ने अडान राख्दै आएका थिए । बहुमतका आधारमा निर्णय भए पनि प्रक्रिया मिचिएको उनको आरोप छ ।
“सभापतिको पक्षमा बसेर साथीहरूले निर्णय गर्दा प्रक्रिया नै मिच्नुभएको छ,” थापाले बैठकमा भने, “तालमेलका विषयमा कार्यसम्पादन समितिमा विधिवत् निर्णय भएको छैन । त्यसैले यस निर्णयको स्वामित्व हामी लिँदैनौँ ।”
थापाका अनुसार उम्मेदवार चयनसम्बन्धी सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने विषयमा हिजो तयारी भएको थियो । तर त्यसले केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन हुने भन्दै आफूले आपत्ति जनाएपछि मात्र बैठक बोलाइएको उनले बताए ।
“यहाँ नाम प्रस्ताव र पारित हुन बाँकी नै थियो,” थापाले भने, “तर उम्मेदवारहरू पत्र बोकेर जिल्ला पुगिसकेका छन् । महामन्त्रीहरूलाई मात्र होइन, समग्र समितिलाई नै पेल्ने काम भएको छ । यस्तो अभ्यास यसअघि कहिल्यै भएको थिएन ।”
नामका विषयमा खुला छलफल गरेर निर्णय गर्न सकिन्थ्यो भन्दै उनले केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको भूमिकालाई कमजोर पारिएको दाबी गरे । यही कारण आफूले लिखित रूपमा फरक मत दर्ता गराएको थापाको भनाइ छ ।
राष्ट्रियसभा उमेदवार छनोटसँगै कांग्रेसभित्र देखिएको यो मतभेदले पार्टीको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र आगामी राजनीतिक समीकरणबारे नयाँ बहस जन्माएको छ।