काठमाडौं । मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनावका बीच होर्मुज क्षेत्रमा कार्यरत एक नेपाली नागरिक इरानको नियन्त्रणमा परेको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत होर्मुज क्षेत्रमा पानीजहाजमा कार्यरत नेपाली नागरिक अमृत झा पक्राउ परेको जानकारी सार्वजनिक गरेको हो।
परराष्ट्र मन्त्रालयअन्तर्गत पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार सम्बन्धित जहाजका सम्पूर्ण क्रु सदस्यहरूलाई इरानी पक्षले नियन्त्रणमा लिएको क्रममा नेपाली नागरिक पनि पक्राउ परेका हुन्। पक्राउबारे प्रारम्भिक जानकारी परिवारका सदस्यहरूले मन्त्रालयलाई गराएका थिए, त्यसपछि सरकारी तहबाट आवश्यक समन्वय अगाडि बढाइएको जनाएको छ।
अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावले मध्यपूर्वमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाप्रति चिन्ता थपिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्नो विवरण अनलाइन प्रणालीमार्फत दर्ता गर्न आह्वान गरेको थियो। हालसम्म ८२ हजार १ सय नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रारम्भिक चरणमा करिब ६ हजार जनाले आफू असुरक्षित रहेको जानकारी दिएका थिए। तर पछिल्ला दिनहरूमा असुरक्षा महसुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको छ।
उनले मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको जानकारी दिँदै सुरुका दिनमा सुरक्षा र उद्धारबारे बढी जिज्ञासा आए पनि अहिले श्रम स्वीकृतिसम्बन्धी प्रश्नहरू बढ्न थालेको बताए।
प्रवक्ता क्षेत्रीले विदेशस्थित नेपालका १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर निगरानी र समन्वय भइरहेको स्पष्ट पारे। उनका अनुसार हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिट क्षेत्रमा अलपत्र छैनन्, साथै जेद्दामा रहेका ५२ जना हजयात्री पनि सुरक्षित रूपमा स्वदेश फर्किसकेका छन्।
सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेको बताउँदै आवश्यक परे उद्धार अभियान सञ्चालन गर्न समेत तयारी अवस्थामा रहेको जनाएको छ।