लमजुङमा रास्वपाको एकल दाउ :धर्म केसीको पुनरागमन, गठबन्धनको चिन्तामा ठूला दल

ecopolinews.com

बेसीशहर, पुस २२ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लमजुङबाट इन्जिनियर धर्म केसीलाई प्रत्यक्षतर्फको एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

रास्वपा लमजुङ जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा पार्टीको जिल्ला कार्यालय, बेसीशहरमा बसेको संयुक्त बैठकले केसीलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गर्दै केन्द्रीय समितिमा सिफारिस गरेको हो। बैठकमा गण्डकी प्रदेश समितिका सदस्य, जिल्ला कार्य समिति, अधिवेशन सम्पन्न भएका तथा तदर्थ समितिमा रहेका पालिका र वडा समितिहरू, साथै विभिन्न तहगत समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पार्टीका संस्थापक जिल्ला सभापति तथा केन्द्रीय संगठन विभागका सदस्य समेत रहेका केसीलाई वैकल्पिक राजनीतिका दृढ अभियन्ताका रूपमा अघि सारिएको जिल्ला सभापति सापकोटाले जानकारी दिए।

केसी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि लमजुङबाट रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवार थिए। पार्टी स्थापना भएको चार महिना पनि नपुग्दै, जिल्लामा संगठनको न्यून संरचनाका बाबजुद उनले ९ हजार ३३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए।

यसपटक भने परिस्थिती पूर्णतः बदलिएको रास्वपाको दाबी छ। पार्टीले जिल्लाका सबै पालिकामा संगठन विस्तार गरिसकेको छ भने अन्य दल परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरूको संख्या निरन्तर बढिरहेको छ।

सुशासन, विकास र समृद्धिको नारासहित वैकल्पिक राजनीतिको अभियान थालेको रास्वपाले केन्द्रमा विवेकशील साझा पार्टी, उज्यालो नेपाल पार्टी, बालेन्द्र शाहसम्बद्ध समूह, थारुवान अभियन्ता तथा नागरिक उन्मुक्ति पार्टीका संस्थापक समूहलाई समेत समाहित गर्दै आफ्नो शक्ति विस्तार गरिसकेको बताइएको छ।

देशभर रास्वपाको लहर बढ्दै गएपछि प्रमुख पुराना दलहरू गठबन्धनको तयारीमा जुट्न थालेको विश्लेषण गरिँदै आएको छ।

रास्वपा लमजुङका सभापति सापकोटाले आगामी निर्वाचनमा लमजुङबाट सानदार जित सुनिश्चित हुने दाबी गर्दै भने, “जनमत गुमाएका पुराना दलहरू जतिसुकै गठबन्धन गरे पनि अब उठ्न सक्दैनन्। रास्वपाले लमजुङसहित अधिकांश जिल्लामा जित निकाल्नेछ। सके दुई तिहाइ, नसके कम्तीमा पनि बहुमतको सरकार बन्ने निश्चित छ।”

लमजुङमा धर्म केसीको उम्मेदवारीलाई रास्वपाको संगठनात्मक परिपक्वता र बदलिँदो राजनीतिक चेतनाको प्रतिविम्बका रूपमा हेरिएको छ।

प्रतिक्रिया