आजको मौसम : तराईमा बाक्लो हुस्सु, पहाड–हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

ecopolinews.com

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज तराई भू–भागका अधिकांश स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य र सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार अहिले तराईका अधिकांश क्षेत्र हुस्सुले ढाकिएका छन्। आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहने अनुमान छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहँदा तराईका केही स्थानमा भने हुस्सु कायमै रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले विशेषगरी तराई क्षेत्रमा हुस्सुको प्रभावलाई ध्यानमा राख्दै सवारी चालक तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ।

प्रतिक्रिया