स्थानीय बजारमा केही दिनयता सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ। केही दिनअघि मात्रै ऐतिहासिक उच्च विन्दुमा पुगेको सुनको मूल्य अहिले उल्लेख्य रूपमा घटेको छ। तोलाको २ लाख ७० हजार ६०० रुपैयाँसम्म पुगेको सुन बिहीबारसम्म आइपुग्दा घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको छ। पछिल्लो चार दिनमै सुनको मूल्य ११ हजार रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको मूल्यमा पनि निरन्तर गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हालै तोलाको ४ हजार ८९५ रुपैयाँसम्म पुगेको चाँदी आज घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। यस अवधिमा चाँदीको मूल्य कुल ४८० रुपैयाँले घटेको छ।
लगातार बढ्दो मूल्यले उपभोक्तालाई चिन्तित बनाइरहेका बेला आएको यो गिरावटले बजारमा नयाँ चासो र जिज्ञासा पैदा गरेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव, लगानीकर्ताको मनोविज्ञान र माग–आपूर्तिको समीकरणले सुनचाँदीको मूल्य आगामी दिनमा कुन दिशा लिन्छ भन्ने प्रश्न अहिले सबैको ध्यानको केन्द्रमा छ।