काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध योजनाबद्ध घेराबन्दी भइरहेको गम्भीर आरोप लगाएका छन्। पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले पछिल्लो समय कांग्रेसभित्र प्रक्रिया र विधानलाई क्रमशः बेवास्ता गर्दै जाने प्रवृत्ति हाबी हुँदै गएको बताएका छन्।
बुधबार (पुस २३) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीको जिम्मेवारी निर्वाह गर्ने क्रममा आफूहरूलाई कमजोर पार्ने, कर्नर गर्ने र मिलेर आक्रमण गर्ने प्रयास भइरहेको स्पष्ट पारे।
“नेपाली कांग्रेसभित्र पछिल्लो समय प्रक्रिया र विधान निल्दै जाने क्रम देखिन्छ। म र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको महामन्त्रीको हैसियतले आफ्नो भूमिका निर्वाह गरिरहेका छौँ। तर त्यसैलाई असहज बनाउने, कर्नर गर्ने र हामीविरुद्ध सबै मिल्ने प्रवृत्ति देखिएको छ,” थापाले गुनासो गरे।
उनले संख्याको दम्भमा केही नेताहरूले विधान र विधिभन्दा माथि उठेर निर्णय थोपर्ने प्रयास गरिरहेको आरोप पनि लगाए। पार्टीभित्र फरक विचार राख्नेहरूमाथि प्रहार गर्ने र आलोचनालाई दबाउने संस्कार बलियो हुँदै जानु कांग्रेसको भविष्यका लागि चिन्ताजनक भएको उनको संकेत थियो।
थापाले पार्टी कार्यालयभित्रको घेराबन्दीलाई ‘सानो घेरा’को संज्ञा दिँदै वास्तविक शक्ति भने आम कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूसँग रहेको दाबी गरे।
“यहाँभित्र सबै मिलेर मलाई र विश्वप्रकाश शर्मालाई जति घेराबन्दी गरे पनि त्यो घेरा साँघुरो छ। पार्टीको घेरा भने ठूलो छ— कार्यकर्ता, समर्थक र आम नागरिकको घेरा। तपाईंहरू हामीलाई पार्टीको साँघुरो घेराबाट अझ ठूलो घेरातर्फ जान बाध्य पार्दै हुनुहुन्छ,” उनले दृढतापूर्वक भने।
महामन्त्री थापाको यो अभिव्यक्तिले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुलन, नेतृत्वको शैली र विधानको पालनाबारे गम्भीर बहसको ढोका खोलेको छ। अब प्रश्न उब्जिएको छ— कांग्रेस नेतृत्वले यो चेतावनीलाई आत्मसात् गर्ला कि आन्तरिक द्वन्द्व अझ गहिरिँदै जानेछ?