काठमाडौं । भारतबाट आएको नयाँ पेट्रोलियम मूल्य सूची अनुसार नेपाल आयल निगमले इन्धनको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिको मंगलबार राति बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो।
निगमका अनुसार भारतबाट डिजेल र मट्टीतेल लिटरमा ४ रुपैयाँ ६६ पैसा, पेट्रोल १२ पैसा र खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर ४५ रुपैयाँ ४९ पैसा बढेर आएको छ। यद्यपि तत्कालका लागि डिजेल र मट्टीतेलको मूल्य मात्र बढाइएको निगमले स्पष्ट पारेको छ।
यसैबीच, हवाई इन्धनको मूल्यमा भने राहत दिइएको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर १ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले कमी गरिएको छ।
नयाँ मूल्य सूची अनुसार देशभर लागू हुने खुद्रा मूल्य भौगोलिक आधारमा तीन वर्गमा विभाजन गरिएको छ। पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल–मट्टीतेल प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा कायम भएको छ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १३८ रुपैयाँ तोकिएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेल प्रतिलिटर १३९ रुपैयाँ पर्नेछ।
हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर १२८ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ९६६, पोखरामा ७४५ र भैरहवामा ७३३ तोकिएको निगमले जनाएको छ।
भारतसँग आयातमा निर्भर पेट्रोलियम पदार्थको मूल्य समायोजनले उपभोक्ताको दैनिक खर्चदेखि यातायात र उद्योगसम्म प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ, जबकि हवाई इन्धन सस्तो हुँदा हवाई सेवा सञ्चालनमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।