हनुमानघाटमा एक महिनेसम्म चलेको ऐतिहासिक माधवनारायण मेला सम्पन्न(तस्बिरहरु सहित)

ecopolinews.com

भक्तपुर । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धा, तपस्या र परम्पराको अनुपम संगमका रूपमा मनाइने एक महिनेसम्म चल्ने माधवनारायण मेला भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आइतबार बिहान विधिवत् रूपमा सम्पन्न भएको छ।

नेपाल संवत् ७२२ मा भक्तपुरका राजा रणजित मल्लको पालादेखि निरन्तर रूपमा मानिँदै आएको यस ऐतिहासिक मेलाले भक्तपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई जीवन्त बनाउँदै आएको छ। महिनाभर व्रतालुहरूले त्रिवेणीधाममा नियमित स्नान गरी माधवनारायणको आराधना गर्दै कठोर व्रत बस्ने परम्परा निभाएका थिए।

मेलाको समापन अवसरमा व्रतालुहरूले माधवनारायणको विशेष पूजा अर्चना, होम आहुति, यज्ञ तथा अर्घ्य प्रदान गर्दै धार्मिक विधि सम्पन्न गरे। परम्पराअनुसार भक्तपुर नगरका विभिन्न देवालयहरूको परिक्रमा गर्दै भूपतिन्द्र मल्लको मूर्तिअगाडि तलेजु भवानीलाई इन्द्रकलश चढाएर मेलाको औपचारिक समापन गरिएको हो।

माधवनारायण व्रतका क्रममा व्रतालुहरूले महिनाभर खाली खुट्टा पैदल यात्रा गर्दै तीलमाधवदेखि तलेजु भवानीसम्म दर्शन गर्ने, सप्तमीका दिन पनौती पुगेर त्रिवेणीमा स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गर्ने परम्परा पनि यथावत् रूपमा पालना गरिएको थियो।

श्रद्धालुहरूको आस्था, अनुशासन र आत्मसंयमको प्रतीकका रूपमा रहेको माधवनारायण मेला केवल धार्मिक अनुष्ठान मात्र नभई भक्तपुरको ऐतिहासिक निरन्तरता, सांस्कृतिक चेतना र सामूहिक पहिचानको जीवित दस्तावेजका रूपमा आज पनि उत्तिकै महत्त्वपूर्ण मानिँदै आएको छ।


प्रतिक्रिया