एमालेमा नेतृत्व पुनर्गठनको चर्चा: ओलीलाई सम्मानजनक बिदाइको तयारीमा पौडेल र पोखरेल

ecopolinews.com

काठमाडौं - नेकपा एमालेभित्र नेतृत्व पुनर्गठनको विषयले नयाँ मोड लिएको छ। पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक बिदाइ गर्दै नेतृत्व परिवर्तन गर्ने दिशामा नजिक पुगेको स्रोतले दाबी गरेको छ।

पार्टीका एक पदाधिकारीका अनुसार पछिल्लो समय उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच पार्टी पुनर्गठनको खाका तयार पार्ने विषयमा गम्भीर छलफल भइरहेको छ। महासचिव पोखरेल स्वयम् पनि पार्टीको साख जोगाउन र लोकतान्त्रिक जनादेशको सम्मान गर्न नेतृत्व परिवर्तन अपरिहार्य रहेको निष्कर्षमा पुगेका छन्।

यसअघि चैत १९ गते प्रतिनिधि सभाको बैठकमा नेता रामबहादुर थापा ‘बादल’ले निर्वाचन परिणामलाई लिएर सेना, ब्युरोक्रेसी र विभिन्न निकायप्रति लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिले पार्टीभित्र ठूलो हलचल पैदा गरेको थियो। उक्त अभिव्यक्तिपछि उपाध्यक्ष पौडेलले तत्काल सचिवालय बैठक बोलाउन दबाब दिएका थिए। सोही घटनापछि महासचिव पोखरेलको सक्रियतामा चैत २० गते बसेको सचिवालय बैठकले बादलको भनाइलाई सच्याउँदै राज्यका निकायहरूसँगको सम्बन्ध मित्रवत रहने प्रस्ट पारेको थियो।

बैठकका क्रममा महासचिव पोखरेलले ‘जनादेशको सम्मान हुनुपर्छ र पार्टीको छवि बिगार्ने खालका कुनै पनि अभिव्यक्ति सह्य हुँदैन’ भन्दै लिएको अडानले उपाध्यक्ष पौडेलसँग उनको समझदारी अझ बलियो बनाएको नेताहरूको विश्लेषण छ। पौडेल र पोखरेलको यो सहकार्यलाई एमालेभित्र अध्यक्ष ओलीको युगको अन्त्य र नयाँ पुस्ताको उदयको संकेतका रूपमा हेरिएको छ।

पार्टीभित्रका प्रभावशाली नेताहरू नेतृत्व पुनर्गठनमा एकमत हुनुले आगामी दिनमा एमालेको संगठनात्मक संरचना र नेतृत्व पङ्क्तिमा व्यापक हेरफेर हुने निश्चितप्राय: देखिएको छ।

प्रतिक्रिया