प्रधानमन्त्री बालेनद्वारा गृहमन्त्रीसँग लिखित स्पष्टीकरण माग; सुशासनको मन्त्र जपिरहेको सरकारभित्रै ‘सेयर काण्ड’ ले मच्चायो खैलाबैला

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौँ: सुशासन र पारदर्शितालाई आफ्नो राजनीतिको मूल आधार बनाएका प्रधानमन्त्री बालेन शाहले आफ्नै क्याबिनेटका प्रभावशाली सदस्य गृहमन्त्री सुधन गुरूङमाथि गम्भीर नैतिक प्रश्न उठाउँदै लिखित स्पष्टीकरण माग गर्नुभएको छ। सम्पत्ति विवरणमा सेयर लगानीको वास्तविक स्रोत लुकाएको र सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीले यो कडा कदम चाल्नुभएको हो।

सोमबार साँझ बुझाइएको स्पष्टीकरणमा गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको दाबी गरे पनि त्यसले विवादलाई साम्य पार्नुको साटो थप संशय पैदा गरिदिएको छ। मन्त्रीको दाबी र उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरणबीचको बेमेलले 'दालमा केही कालो छ' भन्ने आशंकालाई बल पुर्‍याएको छ। विवरणमा सेयर खरिदको स्रोत 'पैतृक सम्पत्ति र व्यवसाय' देखाइएको छ भने ऋण तिर्नुपर्ने महल पूर्ण रूपमा खाली राखिएको छ। तर, अहिले आएर 'ऋण लिएर लगानी गरेको' भन्ने मन्त्रीको जबाफले सरकारी दस्ताबेजमै झुटो विवरण पेस गरेको तथ्यलाई उजागर गरिदिएको छ।

अझ गम्भीर विषय त के छ भने, मन्त्री गुरुङले दोस्रो बजारमा सूचीकृत कम्पनीभन्दा धेरै संस्थापक सेयरमा लगानी गर्नुभएको छ, जसमा विवादास्पद व्यवसायी दीपक भट्टको संलग्नता रहेका कम्पनीहरू समेत सामेल छन्। गृहमन्त्री हुनुभन्दा केही दिन अघि मात्रै गरिएको शंकास्पद सेयर कारोबार र करोडौँको लगानीले नयाँ सरकारको 'क्लिन इमेज' माथि ठूलो धक्का पुर्‍याएको छ। यसअघि सामान्य विवादमै श्रममन्त्रीलाई पदमुक्त गरेका प्रधानमन्त्री बालेनका लागि यो प्रकरण 'अग्निपरीक्षा' सावित हुने देखिएको छ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि यस विषयले आन्तरिक तरंग पैदा गरेको छ। पार्टीका अन्य सदस्यहरूलाई अनुशासनको डन्डा लगाउने नेतृत्व आफ्नै गृहमन्त्रीको सन्दर्भमा भने मौन देखिएको छ। प्रवक्ता मनिष झाले यसबारे ठोस निष्कर्षमा पुग्न बाँकी रहेको बताए पनि सर्वसाधारणले भने 'सानालाई ऐन र ठूलालाई चयन' को आभास गरिरहेका छन्। सिंहदरबारभित्रै सुरु भएको यो 'सेयर र स्रोत' को लडाइँले आगामी दिनमा बालेन नेतृत्वको सरकारको स्थायित्व र नैतिकताको कसीमा कुन मोड लिन्छ, त्यो भने प्रतीक्षाकै विषय बनेको छ।

प्रतिक्रिया