नेपाल अहिले इतिहासको यस्तो घडीमा उभिएको छ, जहाँ संवैधानिक ढाँचा गम्भीर चोट खाएर हचुवाझैं डोलिरहेको छ। संसद विघटन देशको राजनीतिक मेरुदण्डमाथिको प्रहार हो र यसले लोकतन्त्रलाई अन्धकारको गहिराइतिर धकेलिरहेको छ। संविधानको धारा ७६(७) कुल्चिएको स्थितिमा अदालतमा मुद्दा विचाराधीन रहेको मात्र भन्दै बस्नु नेपाली कांग्रेसको परम्परा, दायित्व र इतिहाससँग मेल खाने व्यवहार होइन। कांग्रेस संस्थागत स्थायित्व र संवैधानिक पवित्रतामा जन्मिएको दल हो, त्यसैले संसद पुनर्स्थापना गर्ने नेतृत्व लिने जिम्मेवारी पनि यसकै काँधमा आउँछ।
यतिखेर कांग्रेसभित्र यो धारणा सबैभन्दा स्पष्ट, प्रभावशाली र निर्भीक स्वरमा व्यक्त गरिरहेका छन् नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मनीष जंग थापा। उनी युवा पुस्ताको मात्र प्रतिनिधि होइनन्, अहिलेको राजनीतिक अन्धकारमा मार्गदर्शन गर्ने स्पष्ट प्रकाशजस्तै उदाएका छन्। संसद पुनर्स्थापना कागजी माग होइन, राष्ट्रको राजनीतिक रक्तसञ्चार पुन: शुरू गर्ने प्रक्रिया हो भन्ने उनको धारणा अहिले पार्टीभित्रै मजबुत थपिँदै गएको छ। अदालत निर्णय देला, नदेओस्; लोकतन्त्र अदालतको कुर्सीमा थुनेर बस्न सकिँदैन भन्ने थापाको तर्क कांग्रेसको मूल चिन्तनसँग गहिरो रूपमा मेल खान्छ।
यसैबीच, सडकमा उठेको Gen-Z को रोष, प्रश्न र सुधारका मागहरूलाई थापाले अत्यन्तै राजनीतिक सचेतताका साथ विश्लेषण गरेका छन्। युवापुस्ताले खोजेको नयाँ भविष्य संसदमार्फतै संस्थागत हुन्छ भन्ने उनको दृष्टिकोणले कांग्रेसलाई दिशानिर्देश दिएको छ। पुराना राजनीतिक संरचनामा देखिएको निष्ठुर मौनता र अवसरवादी प्रपञ्चले युवालाई निराश बनाइरहेको बेलामा, थापा ज्यूले कांग्रेसले युवाको ऊर्जा र परिवर्तनको आकांक्षालाई ग्रहण गरेर संस्थागत सुधारको बाटो समात्नुपर्ने स्पष्ट धारणा प्रस्तुत गरेका छन्। यही बुझाइका कारण उनी अहिले पार्टीको नयाँ सोच, नयाँ चेतना र नयाँ राजनीतिक शुद्धिकरण अभियानको प्रतीक बनेका छन्।
वर्तमान सरकारले पपुलिस्ट अभिनय, असंयमित प्रचार र गैरजिम्मेवार शैलीमार्फत राज्यसञ्चालनलाई तमाशा बनाएको छ। मन्त्री कक्षलाई प्रदर्शनकक्षमा बदल्ने नाटक, सम्पत्ति विवरण लुकाउने निर्लज्जता र संरचनात्मक सुधारको पूर्ण उपेक्षा– यी सबैले देशलाई संकटको खाडलमा धकेलिरहेको छ। यस्ता प्रवृत्तिप्रति थापा ज्यूले आफ्नो टिप्पणी अत्यन्तै कठोर र तथ्यपरक ढंगले राख्दै आएका छन्। उनी भन्छन्, देशलाई भाषणले होइन, संस्थागत स्थिरताले बच्छ; र त्यो स्थिरता संसद पुनर्स्थापनाबाटै सुरू हुन्छ।
यो विरोधाभास पनि कम रोचक छैन कि हिजो ओलीको संसद विघटनलाई ‘तानाशाही’ भनेर चर्को विरोध गर्नेहरू आज देउवालाई दोषारोपण गर्दै सहानुभूति बटुल्न तम्सिरहेका छन्। थापाले राजनीतिक चरित्रको यो दोहोरोपनलाई अस्वीकार्य ठानेका छन्। उनका अनुसार लोकतन्त्र फेसबुकको अभिनय होइन, जिम्मेवारीको संरचना हो। यही दृष्टिकोणले कांग्रेसभित्र उनको व्यक्तित्वलाई अधिक विश्वसनीय र दूरदर्शी बनाएको छ।
अहिले पूर्व सांसदहरूले हस्ताक्षर अभियान सुरु गरिसकेका छन्, दलहरू पुनर्स्थापनाको मागमा एकताबद्ध हुँदैछन्, र ओली स्वयंले पुनर्स्थापनाको आवाज उठाइसकेका छन्। यस्तो अवस्थामा कांग्रेसले अस्पष्टता होइन, नेतृत्व देखाउनुपर्छ। यही सन्देश मनीष जंग थापाले पार्टी केन्द्रीय समितिभित्र स्पष्ट र दृढ शब्दमा प्रस्तुत गर्दै आएका छन्।
उनका शब्दहरू पार्टीभित्र मात्र होइन, देशभर फैलिएको अधैर्य र निराशाका बादल चिरेर आउने नयाँ आशाको झिल्कोजस्तै छन्। कांग्रेसको ऐतिहासिक भूमिकाले अहिल्यै निर्णायक कदम माग्छ, र त्यो कदम संसद पुनर्स्थापनाबाट शुरू हुन्छ। यसबाट मात्र लोकतन्त्र पुनर्जीवित हुन्छ, युवापुस्ताको विश्वास फर्केर आउँछ, र राजनीतिक अराजकताबाट देशलाई बाहिर निकाल्ने ढोका खुल्छ।
कांग्रेसले आफ्नो जन्म मूल उद्देश्य सम्झनैपर्छ– संवैधानिकता र लोकतन्त्रको रक्षा। र आज त्यो रक्षा गर्ने आवाज मनीष जंग थापाजस्तो युवा नेताबाट सबैभन्दा स्पष्ट रूपमा उठिरहेको छ। समय अहिले कांग्रेसको हातमा छ, तर इतिहास भने कसैको पर्खाइमा बस्दैन।
संसद पुनर्स्थापना नै राष्ट्रको पुनर्संरचना हो। यही बाटोले नेपाललाई भविष्यको दिशामा उभ्याउँछ।
जय नेपाल। 🇳🇵