काठमाडौं, फागुन ७ - पूर्वमन्त्री तथा २०७४ सालमा निर्वाचित सांसद रामवीर मानन्धरले नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेसमा औपचारिक प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित प्रतिज्ञापत्रसम्बन्धी सार्वजनिक प्रश्नोत्तर कार्यक्रमपछि उनी कांग्रेसमा प्रवेश गरेका हुन्।
सभापति गगन थापाको उपस्थितिमा सम्पन्न कार्यक्रममा मानन्धरलाई पार्टीमा स्वागत गरिएको थियो। स्थानीय तहदेखि संघीय संसद्सम्म लामो राजनीतिक अनुभव बोकेका मानन्धर २०४९ सालमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष बनेका थिए भने २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
उनको कांग्रेस प्रवेशलाई बदलिँदो राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ। कांग्रेसले आगामी राजनीतिक यात्रामा अनुभवी नेतृत्वलाई समेट्दै संगठन सुदृढीकरणको सन्देश दिएको विश्लेषण गरिएको छ।
यसै अवसरमा नेकपा एमाले रसुवाका जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकालसहित ७८ जना तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेसमा प्रवेश गरेका छन्। पछिल्लो समय विभिन्न दलका नेता–कार्यकर्ता कांग्रेसमा आवद्ध हुने क्रम बढ्दै गएको देखिएको छ, जसले राजनीतिक ध्रुवीकरणमा नयाँ बहस जन्माएको छ।