काठमाडौं प्रहरी परिसरमा निर्वाचन प्रहरी फाराम बुझाउन भीड, बिहानैदेखि लाइन

ecopolinews.com

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएसँगै काठमाडौं प्रहरी परिसर कार्यालयमा फाराम बुझाउनेको उल्लेख्य भीड देखिएको छ। बिहानैदेखि परिसर अगाडि युवायुवतीहरूको लामो लाइन लागेको छ।

नेपाल प्रहरीले यस निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ। यस्तै, सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ।

नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीमा भर्नाका लागि आजदेखि फाराम बुझाउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो। भर्ना खुलेको पहिलो दिनमै काठमाडौं प्रहरी परिसरमा आवेदन दिनेहरूको चाप बढेको छ।

सशस्त्र प्रहरी बलतर्फ भने आवश्यकताका आधारमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्बन्धित जिल्लाहरूमा आवेदन खुलाइने बताइएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका रहने भएकाले रोजगारीको अवसरसँगै राष्ट्रसेवामा योगदान दिने चाहनाले ठूलो संख्यामा युवाहरू आवेदन दिन उत्साहित देखिएका छन्।

प्रतिक्रिया