वीरगन्ज । पर्सा जिल्लामा अवैध तस्करीविरुद्ध सशस्त्र प्रहरीले चलाएको कारबाहीका क्रममा तस्कर समूहको आक्रमणमा परेर ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
सोमबार बिहान वीरगन्ज महानगरपालिका–१०, आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडामाथि छापा मार्ने क्रममा उक्त घटना भएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोदाममा छापा मारेको थियो।
छापाका क्रममा अवैध रूपमा भण्डारण गरिएको करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। कपडा बरामद भएपछि आक्रोशित बनेको तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेको थियो।
तस्करको आक्रमणबाट सशस्त्र प्रहरी बलको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा क्षति पुगेको छ भने घटनामा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घटनापछि थप सुरक्षा सतर्कता बढाइएको र तस्करीमा संलग्न समूहको पहिचान तथा खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।