काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि महँगा आइफोन खरिद गर्न लागेको भनी सामाजिक सञ्जालमा फैलिएको चर्चालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले पूर्णतः आधारहीन र कपोलकल्पित भन्दै खण्डन गरेका छन्। उनले यस्ता समाचारहरूलाई कुनै व्यक्ति विशेषको परिकल्पनाबाट उब्जिएको 'भ्रामक कथा' को संज्ञा दिँदै सरकारको त्यस्तो कुनै पनि योजना नरहेको स्पष्ट पारेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री तिमिल्सिनाले यस्ता अफवाहहरू कसरी र किन निर्माण भइरहेका छन् भनी आश्चर्य प्रकट गरेका छन्। उनले कुनै पनि सूचना साझा गर्नुअघि त्यसको स्रोत र विश्वसनीयता सुनिश्चित गर्न सबैमा आग्रह समेत गरेका छन्। जनताको करबाट संकलित रकमको दुरुपयोग गर्ने नभई त्यसको मूल्य र महत्त्वलाई सरकारले गहिरोसँग अनुभूत गरेको उनको भनाइ छ।
वर्तमान सरकार नागरिकको सुन्दर भविष्य निर्माणका लागि अहोरात्र खटिरहेको दाबी गर्दै मन्त्री तिमिल्सिनाले विलासिताका वस्तुमा ढुकुटी सिध्याउने सोच सरकारको नरहेको प्रस्ट पारेका छन्। जनताको एक–एक रुपैयाँको हिसाब राख्दै जिम्मेवार ढंगले अघि बढिरहेको बेला यस्ता नकारात्मक र भ्रामक हल्लाहरू फैलाएर सरकारको छवि धमिल्याउने प्रयास नगर्न उनले चेतावनी समेत दिएका छन्।