काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आएको फैसला आफ्नो समूहको अपेक्षा विपरित रहेको बताएका छन्। सर्वोच्चले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने फैसला गरेपछि प्रतिक्रिया दिँदै पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने नेता महतले फैसलामा चित्त नबुझे पनि कानुनी रूपमा अदालतको निर्णयलाई सम्मान गर्ने स्पष्ट पारेका हुन्।
अदालतको फैसलासँगै लामो समयदेखि चल्दै आएको कानुनी लडाइँ तत्कालका लागि टुङ्गिएको भए पनि राजनीतिक सङ्घर्ष र बहस अझै बाँकी रहेको महतको भनाइ छ। उनले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने मुख्य जिम्मेवारी र चुनौती गगन थापाकै काँधमा आइपुगेको उल्लेख गर्दै १५औँ महाधिवेशनको तयारी भइरहँदा सबै पक्षलाई समेट्न सक्ने वातावरण निर्माण गर्न नेतृत्वलाई आग्रह गरेका छन्। फैसलाप्रति पार्टीका कतिपय नेताहरूमा गहिरो असन्तुष्टि रहेको स्वीकार गर्दै उनले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा समूहभित्र गम्भीर छलफल गरेर मात्र थप निर्णय लिइने जानकारी दिए।
पार्टी फुट्ने वा नयाँ ढङ्गले जाने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा डा. महतले अहिले नै त्यस्तो कुनै तयारी वा योजना नरहेको प्रस्ट पारेका छन्। पार्टीभित्र फरक मत र विमति हुनु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको तर्क गर्दै उनले तत्कालका लागि पार्टीभित्रै बसेर सङ्घर्ष गर्ने र एकताबद्ध कांग्रेस निर्माणमा जोड दिने बताए। उनले अहिलेको मुख्य प्राथमिकता पार्टीलाई विभाजनतर्फ लैजानु भन्दा पनि सुदृढ र समावेशी बनाएर लैजानु रहेकोमा जोड दिएका छन्।