बिपी राजमार्गमा रोशी खोलाको वितण्डा: डाइभर्सन बगाउँदा सडक सञ्जाल विच्छेद, यात्रुको बिचल्ली

ecopolinews.com

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै उर्लिएको रोशी खोलाले बिपी राजमार्गको नमोबुद्धस्थित कटुञ्जेदेखि मङ्गलटार खण्डमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू बगाएपछि आज बिहानैदेखि यातायात पूर्ण रूपमा ठप्प भएको छ । गत वर्षको विनाशकारी बाढीले भत्काएको सडकमा जेनतेन सवारी चलाउन बनाइएका वैकल्पिक संरचनाहरू बाढीले पुनः सोहोरेपछि पूर्वी नेपाललाई राजधानीसँग जोड्ने यो छोटो दूरीको राजमार्ग अहिले मृतप्रायः बनेको छ । खोलामा पानीको बहाव उच्च रहेकाले मर्मतको प्रयास समेत चुनौतीपूर्ण बनेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार बाढीले सडक नै कटान गरेपछि अहिले धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा सयौँ सवारीसाधन र यात्रुहरूलाई सुरक्षाका कारण रोकिएको छ । गत असोज र चैतमा पटक-पटक सडक बगाउँदा सास्ती खेपेका यात्रुहरूले फेरि पनि उही नियति भोग्नुपरेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले स्थायी सडक निर्माणको काम भइरहेको दाबी गरे पनि वर्षायामको सुरुवातमै डाइभर्सन बग्ने शृङ्खला दोहोरिँदा पूर्वाधारको दिगोपनामाथि प्रश्न उठेको छ ।

अहिलेको परिस्थिति अत्यन्तै जोखिमपूर्ण रहेकाले प्रहरी प्रशासनले सर्वसाधारणलाई अर्को सूचना जारी नभएसम्म यो सडकखण्डमा यात्रा नगर्न कडा अपिल गरेको छ । राजमार्गको वास्तविक अवस्था नबुझी यात्रा तय गर्दा बीच बाटोमै अलपत्र परिने र थप दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै घरबाट ननिस्कन आग्रह गरिएको छ । मर्मत कार्यले गति लिन खोलाको सतह घट्नुपर्ने भएकाले आवागमन सुचारु हुन अझै केही समय लाग्ने निश्चित देखिएको छ ।

प्रतिक्रिया