रौतहट जिल्लामा कर्फ्यू घोषणा: साम्प्रदायिक झडपपछि प्रशासनको कडा कदम

ecopolinews.com

९ फागुन, रौतहट। गौर नगरपालिका-६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। मस्जिदमा प्रार्थना भइरहेको समयमा बाजा बजाइएको विषयलाई लिएर सुरु भएको विवादले विस्तारै हिंसात्मक रूप लिँदै गौर क्षेत्र तनावग्रस्त बनेको हो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यू लागू गरिएको छ। कर्फ्यू अवधिभर घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही स्थानमा हवाइ फायर र अश्रुग्यास प्रहार गरेका छन्। गौरका वडा नम्बर ४, ५ र ६ मा झडप जारी रहेको बताइएको छ। प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी गर्नुका साथै घरमा तोडफोड गरेका छन् भने केही व्यक्ति सामान्य घाइते भएका छन्।

अवस्था थप बिग्रन नदिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको जनाएको छ। जिल्लामा शान्ति सुरक्षा कायम गर्न उच्च सतर्कता अपनाइएको छ।

प्रतिक्रिया