काठमाडौँ उपत्यकामा ट्राफिक सुधारको प्रभावशाली अभियान

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउँदै आएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी को नेतृत्वमा हराएका दुई पाङ्ग्रे सवारी साधन खोजी तथा उद्धार अभियानले महत्वपूर्ण सफलता हासिल गरेको छ।

विभिन्न मितिमा हराएका २९ ओटा मोटरसाइकल र २३ ओटा स्कुटर गरी कुल ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई विधिवत् हस्तान्तरण गरिएको हो। लामो समयदेखि आफ्नो सवारी साधन हराएर निराश बनेका सेवाग्राहीका लागि यो कदम राहत र विश्वासको प्रतीक बनेको छ।

एसएसपी अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरीद्वारा सञ्चालन गरिएको विशेष निगरानी, प्रविधि-आधारित अनुसन्धान र समन्वयात्मक कार्यशैलीका कारण चोरी तथा हराउने घटनामा उल्लेखनीय नियन्त्रण आएको ट्राफिक प्रहरीको दाबी छ। सवारी साधन चोरी नियन्त्रणसँगै दुर्घटना न्यूनीकरण, नियम उल्लङ्घनमा कडाइ र जनचेतनामूलक अभियानलाई समान प्राथमिकतामा राखिएको छ।

उहाँको कार्यकालमा ट्राफिक व्यवस्थापन थप व्यवस्थित बन्दै गएको छ भने दुर्घटना न्यूनीकरणतर्फ पनि सकारात्मक परिणाम देखिन थालेको छ। चेकिङ प्रणाली सुदृढीकरण, सीसीटीभी विश्लेषण, डिजिटल अभिलेख व्यवस्थापन तथा सामुदायिक सहकार्यमार्फत ट्राफिक प्रहरीको कार्यक्षमता उल्लेखनीय रूपमा बढेको छ।

सार्वजनिक सुरक्षालाई सर्वोपरि मान्दै अघि बढेको यस अभियानले नागरिकमा ट्राफिक प्रहरीप्रति विश्वास थप मजबुत बनाएको छ। एसएसपी नवराज अधिकारीको सक्रिय नेतृत्व, पारदर्शी कार्यशैली र परिणाममुखी रणनीतिले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई नयाँ उचाइतर्फ डोर्याएको विश्लेषकहरू बताउँछन्।

हराएको सवारी फिर्ता पाउँदा सेवाग्राहीले व्यक्त गरेको खुसी र कृतज्ञताले ट्राफिक प्रहरीको सेवा-प्रतिबद्धतालाई थप अर्थपूर्ण बनाएको छ। काठमाडौँ उपत्यकामा सुरक्षित, व्यवस्थित र अनुशासित यातायात वातावरण निर्माण गर्ने अभियान अझ तीव्र रूपमा अघि बढ्ने ट्राफिक प्रहरीको प्रतिबद्धता छ।

प्रतिक्रिया