गोंगबुका ७७ वर्षीय वृद्धको घरबाट ४ करोड २५ लाख नगद र १० किलो सुन बरामद!

ecopolinews.com

काठमाडौं । राजधानीको गोंगबुस्थित आफ्नै घरमा लुकाएर राखिएको ठूलो मात्रामा नगद र सुनचाँदीसहित एक वृद्ध पक्राउ परेका छन्।

मंगलबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको टोलीले छापा मार्दा ४ करोड २५ लाख नगद, ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ ग्राम चाँदी बरामद भएको हो। नगद रकम बैंकबाट मेसिन मगाएर गणना गरिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति गोरखा बजार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्दै आएका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ हुन्। उनी लामो समयदेखि मिटरब्याज धन्दा गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उनी सुनचाँदी धितो राखेर उच्च ब्याजदरमा रकम लगानी गर्ने गरेको प्रहरीको दाबी छ। एसएसपी शेखर खनालले भने, “प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठ मिटरब्याजी रहेको पाइएको छ। उनले अनुचित तरिकाले सुनका गरगहना धितो राखेर कारोबार गर्दै आएको देखिन्छ।”

विशेष सूचनाका आधारमा छापा मार्दा ठूलो मात्रामा नगद र सुनचाँदी भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया