काठमाडौं, असोज १९ । इलाम जिल्लामा गएको भीषण वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। जिल्लाका विभिन्न स्थानमा गए राति भएका पहिरो र बाढीका घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ, भने स्थानीय तहका अनुसार मृतक संख्या १८ पुगेको अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका–१ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही वडाको धुसुनीमा २ जना, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना र इलाम नगरपालिका–घोसगाउँमा ६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।
स्थानीयवासी, प्रहरी र सशस्त्र बलको टोलीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रुपमा सञ्चालन गरिरहेका छन्। तर निरन्तरको वर्षा र सडक अवरोधका कारण कतिपय प्रभावित क्षेत्रहरूमा उद्धार टोली पुग्न नसकेको प्रहरीले जनाएको छ।
जिल्लाका धेरै स्थानमा अझै पहिरोको जोखिम कायमै रहेकोले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्ने आग्रह गरेको छ।
इलाममा हाल बाढीपहिरोको कारण घरहरू बगाएको, सडक अवरुद्ध भएको र सम्पर्क विच्छेद भएको विवरणहरू पनि आइरहेका छन्। प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्यलाई प्राथमिकता दिइएको स्थानीय प्रशासनले जनाएको छ।