नेपाली विद्यार्थी विपिन जोशीलाई आज कञ्चनपुरमा अन्तिम श्रद्धाञ्जली, इजरायली राजदूत पनि उपस्थित

ecopolinews.com

कञ्चनपुर, कार्तिक ४ — हमासको नियन्त्रणमा रहेकै क्रममा ज्यान गुमाएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको आज अन्तिम दाहसंस्कार हुँदैछ। बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा सुरु गरी महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिएका छन्।

दाहसंस्कारमा नेपालका लागि इजरायलका राजदूत स्मुली एरी बास पनि सहभागी हुने जनाइएको छ।

विपिनको शव सोमबार राति सवा आठ बजे कञ्चनपुरस्थित उनको घरमा पुर्‍याइएको थियो। यसअघि फ्लाई दुबईको उडानमार्फत काठमाडौँ ल्याइएपछि प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र उच्च अधिकारीहरूले विमानस्थलमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

काठमाडौँबाट नेपाली सेनाको स्काई ट्रकमार्फत शव धनगढी पुर्‍याइ धनगढी विमानस्थलमा परिवारका सदस्यलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। त्यसपछि शव वाहनमार्फत महेन्द्रनगर ल्याइएको थियो।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा विपिन बन्धक बनाइएका थिए। दुई वर्षसम्म उनको अवस्थाबारे कुनै जानकारी थिएन। गत असोज २७ गते उनको मृत्यु भएको पुष्टि गरिएको थियो।

हमासको उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको र करिब १,२०० मानिस मारिएका थिए। विपिनसहित २५१ जना बन्धक बनाइएका थिए। अमेरिकाको सहजीकरणमा भएको युद्धविरामपछि विपिन सकुशल फर्किने आशा राखिएको भए पनि, अन्ततः उनको मृत्युको पुष्टि इजरायली डिफेन्स फोर्स (आईडीएफ) मार्फत नेपाल सरकार र परिवारलाई गराइएको थियो।

हमासले गत सोमबार विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो। इजरायल सरकारले विपिनका परिवारलाई आफ्नो नागरिकका सरह सेवा सुविधा उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया