निर्वाचन आयोगको कडा कदम: समानुपातिकतर्फका ७६ उम्मेदवार बन्दसूचीबाट हटाइए

ecopolinews.com

काठमाडौं, १९ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दर्ता गरिएका उम्मेदवारमध्ये ७६ जनाको नाम बन्दसूचीबाट हटाएको छ। कानुन र निर्वाचनसम्बन्धी मापदण्ड पूरा नगरेका उम्मेदवारहरूलाई सूचीबाट हटाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जना उम्मेदवार अयोग्य ठहरिएका छन्। त्यस्तै, प्रदेशसभा सदस्यका लागि बन्दसूचीमा नाम कायम भइसकेका २५ जनालाई पनि प्रतिनिधिसभातर्फको सूचीबाट हटाइएको छ। निर्वाचन आयोगको जरिवाना भुक्तान नगरेका १० जना उम्मेदवार पनि कारबाहीमा परेका छन्।

यसैगरी, २५ वर्ष उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा नाम नभएका १ जना, पिछडिएको क्षेत्रका मतदाता नभएका २ जना, महिलाको कोटामा पुरुष उम्मेदवारका रूपमा पेश गरिएका १ जना, राजनीतिक दलकै अनुरोधमा नाम हटाइएका १० जना तथा अन्य विविध कारणबाट २ जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले स्पष्ट पारेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र कानुनसम्मत बनाउन यस्ता कदम आवश्यक भएको आयोगको भनाइ छ। निर्वाचन आयोगले हाल निर्वाचनसम्बन्धी सबै तयारीका कामहरू तीव्र गतिमा अगाडि बढिरहेको पनि जनाएको छ।

प्रतिक्रिया