काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’को चप्पल कारखानास्थित निवासमा चोरी गरेको आरोपमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी सार्वजनिक सुरक्षामा प्रहरीको सक्रियता फेरि एकपटक प्रमाणित भएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ का ४२ वर्षीय मनिष राजवहाक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ स्थायी ठेगाना भई हाल काठमाडौं-३१ बसोबास गर्दै आएका ४६ वर्षीय खिमबहादुर खड्का तथा डोटीको दीपायल सिलगढी-६ का सञ्जय श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार मनिष राजवहाक जेनजी आन्दोलनका क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार भएका कैदी हुन्। उनलाई माघ २३ गते बाँसबारी क्षेत्रबाट पक्राउ गरिएको थियो। यस्तै, खिमबहादुर खड्का बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रहेका र शनिबार जडीबुटी क्षेत्रबाट नियन्त्रणमा लिइएको परिसरले जनाएको छ। सञ्जय श्रेष्ठलाई भने बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो, उनीमाथि यसअघि जबर्जस्ती करणी मुद्दा समेत दर्ता रहेको प्रहरीको भनाइ छ।
पक्राउ परेका अभियुक्तहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप, सुनका गरगहना, सीसी क्यामेरालगायत चोरीका सामग्री बरामद गरिएको छ। बरामद सामान र पक्राउ प्रक्रिया हेर्दा घटनाको गम्भीरतासँगै संगठित आपराधिक गतिविधिमा प्रहरीको निगरानी कडा रहेको स्पष्ट देखिन्छ।
यसै सन्दर्भमा जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले अपराधमा संलग्न जो-कोहीलाई कानुनको कठघरामा ल्याइने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले राजधानी काठमाडौंको शान्ति सुरक्षा मजबुत बनाउँदै, आम नागरिकको सुरक्षा सुनिश्चित गर्ने र आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउनेतर्फ नेपाल प्रहरी केन्द्रित रहेको बताउनुभयो।
एसपी भट्टराईले नेपाल प्रहरीको भूमिका केवल अपराध नियन्त्रणमा मात्र सीमित नभई नागरिकको भरोसा जित्ने, कानुनको शासन कायम गर्ने र लोकतान्त्रिक प्रक्रियाको संरक्षण गर्ने जिम्मेवारीमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। उहाँको नेतृत्वमा काठमाडौं प्रहरी परिसरले अपराधविरुद्ध कडा अपरेशन जारी राख्ने र राजधानीलाई सुरक्षित राख्न कुनै सम्झौता नगर्ने दृढ सन्देश दिएको छ।