काठमाडौं, माघ २१ - आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ आजदेखि देशभर नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन गरिएको छ। सरकारद्वारा स्वीकृत प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पूर्ण रूपमा सक्रिय बनाइएको हो।
निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित भएका छन्। निर्वाचन सुरक्षालाई थप मजबुत बनाउन निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि मतदान सुरक्षा व्यवस्थामा खटाइनेछ।
एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो तहको सुरक्षा सशस्त्र प्रहरी बलले गर्नेछ। बाहिरी घेराको रणनीतिक जिम्मेवारी नेपाली सेनाले लिनेछ। सेनाले आजैदेखि १६५ वटै निर्वाचन क्षेत्रमा फौज परिचालन थालेको जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिसक्नुभएको छ। सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकताअनुसार सुरक्षा ‘वेस’ खडा, संयुक्त गस्ती, तथा संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाइनेछ।
निर्वाचन सुरक्षाका लागि करिब ८० हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी, एक लाख ३३ हजार निर्वाचन प्रहरी, र सशस्त्र प्रहरीतर्फ ४९ हजार ६८६ जनशक्ति परिचालन हुनेछन्। सेनाले निर्वाचनअघि मतपत्र छपाइ र ढुवानी, मतदानका दिन मतदानस्थल सुरक्षा, र निर्वाचनपछि मतपेटिका ढुवानी तथा मतगणनास्थल सुरक्षासम्मको जिम्मेवारी सम्हाल्नेछ।
निर्वाचन आयोगका अनुसार यसपटक ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कूल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। सुरक्षा जोखिमका आधारमा मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरिएको छ। प्रधानमन्त्री सुशील कार्की द्वारा निर्वाचन लाई शान्तिपूर्ण ढंग बाट सम्पन्न गर्न कुनै पनि कसरत बाँकी नराख्ने घोषणा गरेकी छन्।निर्वाचन लाई दलहरुले सहमति र सहकार्यका माध्यम बाट सम्पन्न गर्ने आशा व्यक्त गर्नु भएको छ।
सुरक्षा निकायले कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको जनाउँदै घटनास्थलमा १० मिनेटभित्र पुग्ने तयारीका साथ संयुक्त सुरक्षा संयन्त्र परिचालन गरिएको बताएका छन्। सरकार र सुरक्षा निकायको यो व्यापक तयारीले निर्वाचनलाई शान्त, सुरक्षित र विश्वासिलो बनाउने अपेक्षा गरिएको छ।