काठमाडौं। मध्यपूर्वमा बढ्दो तनावबीच इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन कडा शर्त सार्वजनिक गरेको छ। युद्ध १३औँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो वैध अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा भविष्यमा आक्रमण नहुने विश्वसनीय अन्तर्राष्ट्रिय ग्यारेन्टी प्राप्त नभएसम्म संघर्ष अन्त्य नहुने स्पष्ट पारेको हो।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल ‘एक्स’मार्फत रुस र पाकिस्तानका नेतासँग भएको कुराकानीपछि आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको दोहोर्याएका छन्। तर उनले वर्तमान युद्धलाई ‘अमेरिका र इजरायलले उक्साएको आक्रमण’ भन्दै यसको अन्त्यका लागि इरानका अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।
संयुक्त आक्रमणपछि सुरु भएको युद्ध
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि यो युद्ध सुरु भएको बताइएको छ। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला सैयद अली खामेनी, उच्च सैन्य कमान्डरहरू तथा सर्वसाधारणको मृत्यु भएको इरानी पक्षको दाबी छ। त्यसपछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले इजरायलका विभिन्न क्षेत्रमा मिसाइल आक्रमण गर्दै प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको थियो।
संयुक्त राष्ट्रसंघमा इरानका स्थायी प्रतिनिधि अमिर–सइद इरवानीका अनुसार फेब्रुअरी २८ यता अमेरिकी र इजरायली कारबाहीका कारण महिला र बालबालिकासहित कम्तीमा १,३४८ सर्वसाधारणको मृत्यु भएको छ भने १७ हजारभन्दा बढी घाइते भएका छन्।
संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिक्रिया
यसबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले खाडी सहयोग परिषद् (GCC) का देशहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको कडा निन्दा गर्दै प्रस्ताव पारित गरेको छ। १५ सदस्यीय परिषद्मा प्रस्तुत प्रस्ताव १३–० मतले पारित भएको थियो। प्रस्तावलाई बहराइनले नेतृत्व गरेको थियो भने भारतसहित १३० भन्दा बढी देशले सह–प्रायोजन गरेका थिए। चीन र रुस भने मतदानमा सहभागी भएनन्।
प्रस्तावमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र जोर्डनमाथि इरानले गरेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गरिएको छ। साथै होर्मुज जलडमरूमध्य बन्द गर्ने इरानी चेतावनीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ।
तेल ट्याङ्करमा आक्रमण, ऊर्जा बजारमा असर
इराकको सुरक्षा मिडिया सेलका प्रमुख साद मानका अनुसार इराकको तट नजिक दुई तेल ट्याङ्करमा आक्रमण भएको छ। घटनामा ३८ जना चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
इरानले होर्मुज जलडमरूमध्य बन्द गर्ने चेतावनी दिएपछि विश्व ऊर्जा आपूर्तिमा ठूलो असर परेको छ। यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्नुका रूपमा देखिएको छ।
‘अपरेसन ट्रु प्रोमिस–४’ : मिसाइल आक्रमणको नयाँ चरण
इरानको राज्य सञ्चारमाध्यमका अनुसार IRGC ले ‘अपरेसन ट्रु प्रोमिस–४’ को ४०औँ चरण सुरु गरेको घोषणा गरेको छ। यसअन्तर्गत अमेरिकी सैन्य आधार तथा इजरायलका तेल अभिव र हाइफा क्षेत्रमा मिसाइल प्रहार गरिएको दाबी गरिएको छ।
इरानी पक्षका अनुसार उक्त आक्रमणमा ‘गदर’, ‘इमाद’, ‘खेबर शेकान’ र ‘फताह’ जस्ता उन्नत मिसाइल प्रयोग गरिएको छ।
अमेरिकी सैन्य आधारहरूमा क्षति
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानको प्रतिआक्रमणले पश्चिम एसियाभर रहेका कम्तीमा १७ अमेरिकी सैन्य आधार तथा संरचनामा क्षति पुगेको छ। स्याटेलाइट तस्बिर, भिडियो र विभिन्न स्रोतहरूको विश्लेषणपछि यस्तो निष्कर्ष निकालिएको हो।
बहराइन, जोर्डन, कतार, कुवेत, यूएई र साउदी अरेबियामा रहेका अमेरिकी सैन्य आधारहरू पनि आक्रमणको निशानामा परेको बताइएको छ। तीमध्ये THAAD मिसाइल रक्षा प्रणालीका रडारहरूमा सबैभन्दा महँगो क्षति भएको उल्लेख गरिएको छ।
ट्रम्पको दाबी
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युद्धमा जिततर्फ अघि बढिरहेको दाबी गरेका छन्। तर उनले ‘मिशन पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी सेना क्षेत्रमै तैनाथ रहने’ बताएका छन्।
मध्यपूर्वमा चर्किँदै गएको यो संघर्षले विश्व राजनीति, ऊर्जा बजार र सुरक्षा सन्तुलनमा गम्भीर असर पार्ने संकेत देखिएको विश्लेषकहरू बताउँछन्।