रविन्द्र कट्टेल - काठमाडौंमा अवैध हुण्डी तथा अभौतिक मुद्रा कारोबार नियन्त्रणका क्रममा रमेश थापाको नेतृत्वमा काठमाडौं प्रहरीले फेरि एक उल्लेखनीय सफलता हासिल गरेको छ। हुण्डी कारोबारमा संलग्न दुई युवकलाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गर्दै प्रहरीले आर्थिक अपराध नियन्त्रणमा आफ्नो सक्रियता र प्रभावशाली उपस्थिति देखाएको हो।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भीमढुंगा बस्ने २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले भीमढुंगाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो परिमाणको नगदसहित विभिन्न व्यक्तिका नाममा काटिएका चेक, एटीएम कार्ड, मोबाइल सिम, कम्प्युटर, तथा सवारी साधनसमेत बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानले संगठित रूपमा अवैध आर्थिक कारोबार भइरहेको संकेत दिएको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी प्रमुख रमेश थापाले पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको जानकारी दिएका छन्। उहाँका अनुसार हुण्डी जस्ता आर्थिक अपराधले राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध कठोर निगरानी जारी रहनेछ।
एसएसपी थापाको नेतृत्वमा पछिल्लो समय काठमाडौंमा शान्ति सुरक्षा व्यवस्थापन अझ सुदृढ बनेको प्रहरी वृत्तमा चर्चा छ। विशेषगरी संवेदनशील राजनीतिक अवस्थाबीच शान्तिपूर्ण वातावरण कायम राख्ने, विभिन्न सार्वजनिक कार्यक्रमलाई सुरक्षित रूपमा सम्पन्न गराउने, तथा निर्वाचन अवधिमा राजधानीलाई पूर्ण रूपमा व्यवस्थित बनाउने कार्यमा उहाँको भूमिका प्रभावशाली देखिएको छ।
त्यसैगरी, चोरी, ठगी, लागुऔषध, साइबर अपराधदेखि आर्थिक अपराधसम्मका अनुसन्धानमा काठमाडौं प्रहरीले उल्लेखनीय छलाङ मारेको देखिन्छ। प्रहरी संगठनभित्र द्रुत प्रतिक्रिया, सूचना संकलन क्षमता र अपरेशनको प्रभावकारितामा आएको सुधारले राजधानीमा अपराध नियन्त्रणको सन्देश बलियो बनेको छ।
हुण्डी कारोबारविरुद्धको पछिल्लो अपरेशनले राजधानीमा अवैध आर्थिक सञ्जालमाथि प्रहरीको निगरानी अझ तीव्र बनेको स्पष्ट संकेत दिएको छ। प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै सम्भावित नेटवर्क पहिचानतर्फ समेत काम गरिरहेको जनाएको छ।