फेक रेस्क्यू काण्डमा सिआइबीको कडा कारबाही

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाण्डौ - नेपालको पर्वतारोहण क्षेत्रमा अन्तर्राष्ट्रिय बदनामी निम्त्याउने “फेक रेस्क्यू” प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कारबाही तीव्र बनाएको छ।

सिआइबीले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारी लाई पक्राउ गरेको छ। सन्दीपलाई मंगलबार र राजेन्द्रबहादुरलाई बुधबार बिहान नियन्त्रणमा लिइएको हो।

यससँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी–सञ्चालकसमेत गरी हालसम्म ९ जना पक्राउ परेका छन्। यसअघि माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना लाई पनि सिआइबीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानअनुसार पर्वतारोहण गर्न आएका विदेशी पर्यटकलाई अनावश्यक रूपमा ‘रेस्क्यू’ देखाई बिमा रकम असुल्ने संगठित ठगी भइरहेको सूचनापछि माघ ११ गते सिआइबीले प्रारम्भिक कारबाही थालेको थियो। त्यतिबेला ६ जना पक्राउ परेका थिए।

प्रहरीले आरोपितहरूमाथि राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर तथा संगठित अपराधसम्बन्धी कानुनअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

नेपालको पर्यटन क्षेत्रकै विश्वसनीयतामाथि प्रश्न उठाउने यस प्रकरणमा सिआइबीको कठोर कदमले अब थप ठूला खुलासा हुने संकेत दिएको छ।

प्रतिक्रिया