काठमाडौँ, असोज २०, २०८२ – सोलुखुम्बुको मेरा पिक क्षेत्रमा हराएका दुई आरोहीमध्ये एक कोरियन नागरिकको शव फेला परेको छ भने नेपाली पर्वतीय गाइड सकुशल उद्धार भएका छन्।
नेपाल नेसनल माउन्टेन गाइड्स एसोसिएसनका अध्यक्ष तुलसीसिंह गुरुङका अनुसार ४६ वर्षका कोरियन नागरिक तेजुङ पार्क र नेपाली शेर्पा गाइड तेम्बा शेर्पा शनिबार खराब मौसमका कारण बेपत्ता भएका थिए।
नेपाल पर्वतारोहण संघको पहलमा काठमाडौंबाट पठाइएका प्रमाणित अन्तर्राष्ट्रिय पर्वतीय गाइड रितेन तासी शेर्पा र अशिष गुरुङले आइतबार र सोमबारको उद्धार अभियानमार्फत करिब ५,८०० मिटर उचाइबाट शव र गाइडलाई उद्दार गरेका हुन्।
अध्यक्ष गुरुङका अनुसार कोरियन आरोही लामो समय हिउँमा रोकिँदा हाइपोथर्मियाका कारण निधन भएको अनुमान गरिएको छ। रितेन तासी शेर्पा र अशिष गुरुङ दुवै अनुभवी गाइड भएकाले उद्धार कार्य प्रभावकारी रुपमा सम्पन्न भएको छ।
मेरा पिक सगरमाथा क्षेत्रअन्तर्गत पर्ने ६,४७६ मिटर उचाइको पर्वत हो। शिखरबाट सगरमाथा, ल्होत्से, चो ओयू, मकालु लगायत हिमालको अवलोकन गर्न सकिने भएकाले विश्वभरका आरोहीहरूका लागि यो लोकप्रिय गन्तव्य मानिन्छ।